
काठमाडौं । राजधानीमा जेनजी समुहद्धारा भएको हिंसात्मक प्रदर्शनले मुलुकको न्यायिक प्रणालीमै गहिरो घाउ छाडेको छ। सर्वोच्च अदालतमा आगजनी हुँदा करिब २५ हजार मुद्दासम्बन्धी मिसिल पूर्णरूपमा नष्ट भएका छन् भने सयभन्दा बढी गाडी र सम्पूर्ण प्रशासनिक संरचना ध्वस्त बनेको छ। यो केवल भवन वा फाइल जल्ने कुरा मात्र होइन, हजारौँ नागरिकको न्यायको बाटो नै खरानी भएको घटनाले संकेत गर्छ।
प्रत्यक्षदर्शी र सुरक्षास्रोतका अनुसार, आगजनी सामान्य विरोध मात्र थिएन। विशेष गरी अदालत, सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयलाई छानीछानी निशाना बनाइएको थियो। यसले के संकेत गर्छ भने, यो आन्दोलनभित्र घुसपैठ गरी संगठित समूहले आफ्नो फाइदाका लागि न्यायिक प्रणाली कमजोर पार्ने प्रयास गरेको हो।
सर्वोच्चका कर्मचारीहरूका अनुसार, कुनै पनि मिसिल बाँकी छैन, कम्प्युटर र ल्यापटप समेत चोरी वा नष्ट भएका छन्। प्रधानन्यायाधीश र न्यायाधीशहरूको कार्यकक्षदेखि कर्मचारीका निजी सवारी र सामानसम्म जलेर खरानी भएका छन्।
यसरी प्रमाण नष्ट हुँदा ठगी, हत्या, भ्रष्ट्राचारदेखि राज्यविरुद्धका गम्भीर अपराधसम्मका मुद्दामा कानुनी प्रक्रियै टुट्ने अवस्था आएको छ। फरार कैदीबन्दी र शक्तिशाली समूहलाई यसबाट प्रत्यक्ष फाइदा पुग्ने स्पष्ट देखिन्छ। सबैभन्दा ठूलो प्रश्न भनेको — सिंहदरबार र सर्वोच्चजस्ता देशका संवेदनशील निकायमा आगजनी हुँदा पनि सेना, प्रहरी वा दमकलले किन तुरुन्त नियन्त्रणमा लिन सकेनन्रु यो उदासीनताले सुरक्षामाथि मात्र होइन, राज्यको उपस्थितिमाथि नै प्रश्न उठाएको छ।
अदालतलाई लक्षित गरेर गरिएको आगजनी सामान्य तोडफोड होइन, विधि–व्यवस्थामाथिको सीधा प्रहार हो। अदालत कमजोर हुँदा कानूनको शासन धराशायी हुन्छ र अपराधीहरूलाई दण्डहीनताको अवसर मिल्छ। कानुन विज्ञहरू भन्छन् – यदि यो संकटलाई तत्काल समाधान गरेर हराएको मिसिल पुनःनिर्माण, वैकल्पिक सुनुवाइ प्रक्रिया र कठोर कारबाही सुरु गरिएन भने मुलुकमा न्याय प्रणाली ध्वस्त भएको घोषणा गर्न ढिला नलाग्नेछ।
भदौ २३ र २४ गते जेनजी समुहले गरेको विध्वश र उश्रृङखल गतिविधि हेरेर, आन्दोलनकारीको मनोविज्ञान तथा आन्दोलनकारीको उपस्थिति र क्रियाकलाप नियालेर सरकारले समयमा नै तीनै तहका सुरक्षाकर्मी सबै खठाएको भए यो अवस्था आउने थिएन् । सेनाले २३ गतेको घटना र २४ गतेको सुरुको घटनालाई विश्लेषण गरेर देशमा कर्फ्यु आदेश जारी गरेर सडकमा ठूलो मात्रामा सुरक्षाकर्मी खटिएर आन्दोलनकारीले बोकेका हातहतियार,बन्दुक,कुटो कोदालो ,झम्पल,मार्तल तथा हम्बरऽ खुकुरी ,तरबार नियन्त्रणमा लिन सकेको भए अवस्था सामान्य हुने थियो तर त्यो गर्न सकेन।





































