
जेन जी आन्दोलन पछि निर्वाचन आयोगमा १५ वटा नयाँ दल दर्ता भएका छन्।
निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने क्रम जारी रहँदा सोमबारसम्म १५ नयाँ दल दर्ता भएको हो । भदौ २३ र २४ गत भएको जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई फागुन २१ गते निर्वाचनको घोषणा भएको छ । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार सोमबारसम्म १६ वटा नयाँ दल दर्ताका लागि निवेदन परेकोमा १५ वटा दर्ता भएका छन्। एउटा दललाई प्रक्रिया पूरा नभएका कारण दर्ता गरिएको छैन ।
आयोगमा हालसम्म १२५ दल दर्ता भएका छन्।
निर्वाचन कार्य तालिका अनुसार मंसिर १ देखि १० सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा रहेको छ। आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था छ ।
फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले कात्तिक ३० सम्म राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ।
थपिए १ लाख ५० हजार नयाँ मतदाता
आयोगले कात्तिक ३० सम्म मतदाता नामावलीमा नाम दर्ता गर्न समय तोकेको छ। पछिल्लो समय मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकहरूको घुइचो लागेको छ।
सोमबारसम्म देशैभरिबाट कम्तीमा १ लाख ५० हजार नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको छ।




































