देश
अन्तरिम प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै मोदीले भने- नेपालको प्रगति र समृद्धिप्रति भारत पूर्ण प्रतिबद्ध छ

जेनजी आन्दोलनपछि नेपालमा गठन भएको नयाँ अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत् कार्कीलाई शुभकामना दिँदै नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारतको दृढ प्रतिबद्धता जनाएका छन् ।
‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ,’ मोदीले लेखेका छन्
यसअघि भारत सरकारले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो । भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारको स्वागत गरेको थियो । विज्ञप्तिमा कार्की नेतृत्वको सरकार गठनसँगै मुलुकमा शान्ति र स्थायित्व कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्की नेपालको पहिलो महिला अन्तरिम प्रधानमन्त्री भएकी छिन् ।
कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार राष्ट्रपतिले शुक्रबार राति ११ बजेदेखि लागू हुनेगरी प्रतिनिधिसभा विघटन गरिएको हो ।
नयाँ जनमतमा जान आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी मिति समेत तोकिएको छ ।





































