
तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको शनिबार (मंसिर २७) निरीक्षण गर्दै उनले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलका बारेमा राष्ट्रियस्तरमा चर्चा रहेको बताए । काम नगर्ने भए ठेक्का तोड्नुभन्दा अर्को विकल्प नरहेको उनले उल्लेख गरे । उनले भने, “घुमाउने पुल जसरी पनि निर्माण गर्नुपर्नेछ । यहाँ राष्ट्रपतिको पनि चासो छ । काम गर्नुस्, नगर्ने भए भन्नुस् ।”
मन्त्री घिसिङले घुमाउने पुलको डिजाइन परिवर्तन गरी सडक विभागमा आएको विषयमा चासो राखे । उनले तत्कालै डिजाइन स्वीकार गर्न सडक विभागलाई निर्देशन दिएका हुन् । उनले भने, “पुरानै डिजाइनमा पनि नौ वर्षसम्म किन काम नगर्नुभएको ? विकास निर्माणमा ढिलासुस्ती सैह्य हुँदैन ।”
आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम गरिएको भए यति बेला पक्की पुल बनिसक्थ्यो । ११ वर्षअगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि हालसम्म दुईतिरको भागमा पिल्लर मात्र ठडिएको छ ।
मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक ०७० असारमा उक्त पुल निर्माणका निम्ति सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तनपछि अन्तिमपटक ०७५ माघमा निर्माणका निम्ति पुनः सम्झौता गरिएको थियो । ०७८ चैतमा पुल निर्माण सकाउनुपर्नेमा हालसम्म जम्मा करिब ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहनेछ । सम्झौताका बेला पुलको लागत नौ करोड ५६ लाख रुपैयाँ थियो ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गअन्तर्गत घुमाउनेको उक्त मोटरेबल पुल पर्छ । पुल निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीबाट नारायणगढ आउन जान हाल सञ्चालित मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । रासस




































