Breaking News
अवैध रूपमा स्पेन पठाउनेमाथि तत्काल अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा अन्य व्यक्तिहरूलाई अवैध रूपमा पठाएको आरोपमा गृह मन्त्रालयले अनुसन्धान सुरु गरेको छ।
गृहमन्त्री रमेश लेखकले सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन्।
अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचविखन अनुसन्धान ब्युरोलाई दिइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा उठाएको गम्भीर आरोप लगाएकी थिइन् । उनले प्रधानमन्त्रीको टोलीसँगै स्पेन गएका अन्य ५५ जना नेपालीहरू हालसम्म नफर्किएको दाबी गरेकी छिन्। सो आरोपसँगै उनले ती व्यक्तिहरूको नामावली र सम्बन्धित कागजातहरू समेत सार्वजनिक गरेकी थिइन्।
प्रधानमन्त्रीको टोलीबाहेक अन्य कस–कसलाई कसरी लगियो ? उनीहरूले भिसा कसरी पाए ? के प्रक्रिया अवलम्बन गरियो ? भन्नेबारे विस्तृत अनुसन्धान थालिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
अनुसन्धानका क्रममा दोषी पाइएका व्यक्तिहरूलाई कानुनी कारबाही गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ।





















