
जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको सुरक्षा निगरानीमा बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका छन् ।
नयाँ अन्तरिम सरकार गठन भएपछि सुरक्षा अवस्था सामान्य भएको अवस्थामा अध्यक्ष प्रचण्ड सेनाको सुरक्षाबाहिर गएका हुन् । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अझै सेनाकै सुरक्षामा बसिरहेका स्रोतले जनाएको छ । उनको बालकोटस्थित घरमा क्षति पुगेको र तत्काल घरमा सर्नसक्ने अवस्था नभएकाले ओली अझै सेनाकै सुरक्षामा बसेका छन् ।
आन्दोलन चर्केका बेला सेनाले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरू र सुरक्षा खतरामा रहेका व्यक्तिका परिवारलाई आफ्नो सुरक्षा निगरानीमा राखेको थियो । अब अवस्था सामान्य हुँदै गएपछि ३०–३५ जना मात्रै सेनाको सुरक्षा घेरामा रहेका बताइएको छ ।
सामान्यतया नयाँ सरकार गठनपछि सेना सुरक्षाको जिम्मेवारीबाट अलग हुँदै गएको छ । अब नेपाल प्रहरीले सुरक्षा बन्दोबस्त मिलाउन थालेको छ ।





































