
नवलपरासी (पश्चिम)। गएरातिदेखि दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि यात्रुहरू अलपत्र परेका छन्। राति ११ बजेदेखि नै सवारीसाधन आवतजावत गर्न नसक्दा यात्रुहरूले समस्या भोग्नुपरेको हो।
खुर्सानी खोला नजिक करिब ३० मिटर तल सडक खसेका कारण राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ। हाल दुई पाङ्ग्रे सवारीसाधन मात्रै केही मात्रामा आउजाउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का इन्स्पेक्टर नारायण थापाले जानकारी दिए।
सडक अवरुद्ध बनेका कारण एम्बुलेन्स जस्ता अत्यावश्यक सवारीसाधन पनि रोकिँदा थप कठिनाइ भएको छ। त्यहाँ सडक निर्माण गर्न बनाइएको डाइभर्सन समेत बाढीले बगाएको छ। प्रहरीका अनुसार, करिब तीन घण्टापछि साना हलुका सवारीसाधनहरू चल्ने सम्भावना छ। सामान्य वर्षा हुँदा पनि यो खण्ड अवरुद्ध हुने गरेको छ।