
गलेश्वर (म्याग्दी)। रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक रु २३ करोड ३२ लाखको लागतमा कालोपत्र हुने भएको छ र यसका लागि आवश्यक तयारी तीव्र पारिएको छ।
‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले यो सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने कार्य अघि बढाएको हो।
सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने र वर्षाको पानी निकासका लागि नाली बनाउने काम द्रुत गतिमा भइरहेको छ। आगामी एकदुई दिनभित्रै कालोपत्रको काम सुरु गरिने इञ्जिनियर अरुण सेढाईंले जानकारी दिए।
सडकलाई नौ मिटर चौडा बनाएर सात किलोमिटर खण्डमा डिबिएसडी प्रविधिबाट कालोपत्र गरिनेछ भने दुई किलोमिटर खण्डमा आरसिसी ढलान गरिने योजना छ। “ग्राभेलिङ र बेस बिछ्याउने काम सम्पन्न भएको छ, अब हामी कालोपत्रका लागि पूर्ण रूपमा तयार छौँ,” सेढाईंले भने।
पहिलो चरणमा उपल्लाचौरदेखि तोराखेतसम्मको नौ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए। यसअघि रत्नेचौरदेखि उपल्लाचौरसम्मको एक किलोमिटर ३०० मिटर सडक कालोपत्र र ३०० मिटर सडक ढलान कार्य सम्पन्न भइसकेको छ।