जोडिनुहोस
  • होमपेज
  • अलेक्जेन्डर मोगादाम नेपालप्रेमी समाजसेवी तथा मोनाकोका लागि नेपाली महावाणिज्यदूत

अलेक्जेन्डर मोगादाम नेपालप्रेमी समाजसेवी तथा मोनाकोका लागि नेपाली महावाणिज्यदूत

नेपाल सरकारद्वारा मनोनित Honorary Consul General of Nepal to Monaco अलेक्जेन्डर मोगादमको नाम आज सयौं नेपालीका मुहारमा हाँसो ल्याउने पात्रका रूपमा चिनिन्छ। व्यवसायी एवं समाजसेवी मोगादमले नेपालमा विनाशकारी भूकम्प आएको बेला सरकारको ढिलासुस्तीबीच राहतको काम अघि बढाए। राहतका सामग्री मात्र होइन, उनले चन्द्रागिरी, गोकरणेश्वर, हरिसिद्धि, लुभु लगायत स्थानमा स्थायी आवास निर्माण गरिदिए। ती आवास अहिले पनि पीडितहरूका लागि न्यानो घरको प्रतीक बनेका छन्।

नेपालमा मोनाकोका मानार्थ वाणिज्यदूत सुरेन्द्र शाक्य भन्छन्, “उहाँको पहलले सयौं मानिसलाई टहराबाट पक्की घरमा ल्यायो। मोगादमज्यूको मन सागरजस्तै गहिरो र हिमालजस्तै विशाल छ।” उनका अनुसार मोगादम नेपालका लागि मात्र होइन, मोनाकोका लागि पनि एक आदर्श राजदूत हुन्, जसले दुई देशबीचको सम्बन्धलाई नागरिक–स्तरमै जोड्ने काम गरेका छन्।

गोकरणेश्वरका कृष्ण तामाङ भन्छन्, “भूकम्पपछि सबैजना हामीलाई हेर्न आए, आश्वासन दिए, तर वास्तवमै हामीलाई छाना ओत दिनुहुने चाहिँ मोगादम सर नै हुनुहुन्थ्यो।” उनका अनुसार जब सुत्न त्रिपाल पनि थिएन, मोगादमको टिम पहिलोपटक राहत लिएर आएको थियो। आज उनीसँग सुरक्षित घर छ र बालबच्चा पढ्न सकेका छन्।

त्यस्तै चन्द्रागिरीकी राधा श्रेष्ठ भन्छिन्, “हाम्रो त सपना पनि थिएन फेरि पक्की घरमा बस्ने। उहाँले त सपना देखाउनु मात्र होइन, पूरा नै गरिदिनुभयो।” उनले आफूजस्तै थुप्रै महिला, वृद्ध र बालबालिका सुरक्षित र न्यानो घरमा बसेको देख्दा मोगादमप्रतिको श्रद्धा झन गहिरो भएको बताइन्।

मोगादमले निर्माण गरिदिएको अर्को विशेष परियोजना भनेको ‘हम्रो सुनौलो संसार’ अनाथालय हो, जुन गगालफेदीस्थित एक सुरक्षित र व्यवस्थित बालगृह हो। हाल २५ भन्दा बढी बालबालिका त्यहाँ बस्छन्, पढ्छन् र भविष्यको सपना देख्छन्। संस्थाकी अध्यक्ष मेनुका कोइराला भन्छिन्, “पहिला त बच्चाहरू असुरक्षित अवस्थामा थिए। उहाँले चार तले सुरक्षित भवन बनाइदिनुभयो, पढ्ने, खेल्ने, बाँच्ने वातावरण दिनुभयो। उहाँले हाम्रो संस्था होइन, यी बालबालिकाहरूको जिन्दगी निर्माण गरिदिनुभयो।”

शिक्षाको क्षेत्रमा पनि मोगादमको योगदान उल्लेखनीय छ। उनले ललितपुरको बुद्ध माध्यमिक विद्यालयमा नयाँ भवन, पुस्तकालय र कम्प्युटर ल्याब निर्माण गरिदिएपछि विद्यालयको रूप फेरिएको छ। दर्जनौं विद्यार्थी छात्रवृत्तिमा पढ्न पाएका छन् भने पुराना टिनका कोठा अब इटा-पर्खाल भएका सुविधासम्पन्न कोठामा बदलिएका छन्।

नेपालमा स्थापित हिमालयन डोनेसन फाउन्डेशनमार्फत मोगादमले शिक्षा, स्वास्थ्य, राहत र पुनर्निर्माणका थुप्रै कार्यहरू सञ्चालन गरेका छन्। डुकुछाप, गोदावरी, खोकनालगायत थुप्रै गाउँमा उनले घर, पानी, पाठशाला, शौचालयदेखि स्वास्थ्य शिविरसम्म सञ्चालन गरेका छन्।

८८ वर्षको उमेरमा पनि उनी बेला–बेला नेपाल आउँछन्, स्थानीयसँग घुलमिल हुन्छन्, बालबालिकासँग समय बिताउँछन्। उनी आफूलाई दाताभन्दा पनि साथी, अभिभावक र नेपालीमाझको एक सेवक भन्न रुचाउँछन्। उनका कार्यहरूले नेपाल–मोनाको सम्बन्धलाई केवल कूटनीतिक स्तरमा मात्र होइन, जनस्तरमै गहिरो बनाइदिएको छ।

अलेक्जेन्डर मोगादमका सहयोगहरूलाई शब्दमा बाँध्न गाह्रो पर्छ, किनभने उनले बाँडेको माया कुनै परिमाणमा जोख्न सकिँदैन। उनलाई नेपालले चाहिँ अब “विदेशी नागरिक होइन, आफ्नै परिवारका सदस्य”का रूपमा हेर्न थालेको छ। मानवता, ममतामयी व्यवहार र सेवा भावनाबाट भरिएको यस्तो पात्रको कथा नेपालका हरेक घरमा फैलिनुपर्छ।
अलेक्जेन्डर मोगादम आफैंले भनेका छन्, “नेपाल र नेपाली मलाई अत्यन्तै मन पर्छन्। यहाँका मान्छेहरू इमानदार, सरल र साहसी छन्। म र मेरो देश मोनाको, नेपालीहरूको सहयोग गर्न पाउँदा साँचिकै खुसी छौँ।” उनको यो भनाइ केवल औपचारिक कूटनीतिक भनाइ होइन, बरु उनीले गरेका कामले नै यो कुराको पुष्टि गर्छ—शब्दभन्दा बढी कर्ममा विश्वास गर्ने व्यक्ति हुन् उनी।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका