समाचार
खरानी भएको सिंहदरबार सुधारमा जुट्ने, प्राथमिकता तय गर्न तथ्याङ्क संकलन गर्ने गृहमन्त्री अर्यालको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदभार ग्रहण गर्दै जलेका भवन र डढेका सवारीसाधनको तथ्याङ्क संकलन गरी प्राथमिकता निर्धारण गर्ने योजना सार्वजनिक गरेका छन्।
मन्त्री अर्यालले सिंहदरबारको संरचना सुधारका लागि अन्य मन्त्रालय र एजेन्सीहरूसँग छलफल गरी नीति बनाउने र नागरिक सहयोग अपेक्षा गरेको बताए। जुनै सरकारी कार्यालय वा पूर्वाधार नहुँदा सेवा प्रवाह अवरुद्ध हुने र राज्य सञ्चालनमा समस्या हुने तथ्यलाई स्मरण गर्दै अर्यालले भने, “सिंहदरबार भित्रको संरचना कहिले ठिकठाक हुन्छ ?, काम गर्दै जाने प्रतिबद्धता राख्छौं।”
उनका अनुसार पहिलो चरणमा जलेका भवन र सवारीसाधनको तथ्याङ्क संकलन गरिनेछ। त्यसपछि राज्यको क्षमता र बजेटअनुसार तत्काल र दीर्घकालीन कामको प्राथमिकता तय गरिनेछ।
“तथ्यांक लिनुपर्छ, राज्यको क्षमता हेर्नुपर्छ, तत्काल सूचना दिनुपर्ने काम र दीर्घकालीन कार्य पहिचान गर्नुपर्छ। राज्यको बजेटअनुसार अगाडि बढ्छौं,” उनले भने गृहमन्त्री अर्यालले सिंहदरबार मात्र नभएर सार्वजनिक संरचना सुधारमा नागरिकको भूमिका आवश्यक रहेको बताएका छन्। उनले भने, “नागरिककै पनि भूमिका हुन्छ। सहयोग जुटाएर काम गर्नुपर्ने हुनसक्छ। पुलिस पोस्ट नहुँदा हामी पनि असुरक्षित भएका छौं।”
उनले स्मरण गराए, संघीय संसद्को भवन, सर्वोच्च अदालत र अन्य पूर्वाधार ध्वस्त हुँदा राज्य सञ्चालनमा चुनौती आएको थियो। तर उनले यसलाई ऐतिहासिक अवसरका रूपमा लिँदै सबै पक्ष मिलेर विवाद कम गरेर काम अघि बढाउने प्रतिबद्धता जनाए।
गृहमन्त्री अर्यालको योजना अनुसार सिंहदरबार पुनर्निर्माण कार्य चरणबद्ध रूपमा अघि बढाउने र नागरिक सहभागितालाई जोड दिँदै सरकारका प्राथमिकतामा राखिनेछ।





































