जोडिनुहोस
  • होमपेज
  • शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी। हरेक वर्ष जाडोमा देखिने शीतलहरका कारण हुने जनधनको क्षति रोक्न महोत्तरीमा यसपटक समयमै तयारी सुरु गरिएको छ।

सामान्यतया पुसपछि बढ्ने शीतलहर यसअघिका केही वर्षमा मंसिरमै तीव्र भएको अनुभव भएपछि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले यसपालि पूर्वतयारी अग्रिम रूपमा अघि बढाएको हो।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शीतलहर मधेसको पुरानो समस्या भएकाले क्षति भएपछि व्यवस्थापन कठिन र खर्चिलो हुने हुँदा अहिलेदेखि नै सतर्कता अपनाइएको छ। समितिले सबै स्थानीय तह, सामाजिक सङ्घ–संस्था तथा सरकारी कार्यालयका प्रमुख सहभागी रहने बृहत् बैठक बसेर तत्कालीन तयारी अघि बढाउने निर्णय गरेको छ।

समितिले विगतमा उद्धार तथा राहतमा सहयोग गर्दै आएका निकाय, व्यक्तित्व र संस्थासँग समन्वय गरी शीतलहर व्यवस्थापन योजना तत्काल तयार गर्ने र स्वीकृत गरी कार्यान्वयनमा लैजाने बताइएको छ।

जिल्लामा क्रियाशील गैरसरकारी संस्थालाई स्थानीय तहसँग सहकार्य गर्दै शीतलहर प्रतिकार्य योजना बनाउने र लागू गर्न प्रेरित गरिएको समितिले जनाएको छ। बैठक बिहीबार सम्पन्न भएको हो।

यादवका अनुसार मधेसमा हरेक वर्ष शीतलहरका कारण मानवीय क्षति, स्वास्थ्य समस्या र कृषिमा ठूलो नोक्सानी भइरहेको छ। त्यसैले आवश्यक दाउराको व्यवस्था समेत स्थानीय तहलाई अहिलेबाटै सचेत गराइएको छ।

समितिले असोजको बाढी–डुबानबाट क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माण काम पनि जिम्मेवार निकायले प्राथमिकताका साथ तुरुन्त सम्पूर्ण गर्नुपर्ने निर्णय गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका