जोडिनुहोस
  • होमपेज
  • इलामका सीमावर्ती गाउँमा विद्यार्थी भए पनि विद्यालय छैनन्, भारतमा पढ्न बाध्य

इलामका सीमावर्ती गाउँमा विद्यार्थी भए पनि विद्यालय छैनन्, भारतमा पढ्न बाध्य

इलाम। देशभर शिक्षकहरू आन्दोलनमा रहेका बेला इलामका उत्तरी भेगका अभिभावकलाई भने विद्यालय खुल्ने आशा पनि छैन। आफ्नै ठाउँमा विद्यालय नभएपछि उनीहरूलाई बालबच्चा कहाँ पढाउने भन्ने चिन्ताले सताएको छ।

माइजोगमाई गाउँपालिका–५ मेग्माकी नुमा शेर्पाले भनिन्, “शिक्षकको आन्दोलन र शिक्षा ऐनको कुरा छ। तर, हामीलाई बच्चा पढाउन भारत जानुपर्छ। गाउँमा एउटा पनि विद्यालय छैन। अर्काको देशमा बच्चा पढाउँदाको पीडा कसैले बुझेनन्।” उनी जस्तै उत्तरी इलामका लेकाली भेगका अधिकांश अभिभावक आफ्ना बालबच्चालाई भारतका विभिन्न विद्यालयमा पढाउन बाध्य छन्। जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला र गैरीबास लगायतका गाउँका सबै बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने अवस्था छ।

विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालयहरू बन्द भएपछि सीमावर्ती क्षेत्रका बालबालिका भारतमा शिक्षा लिन बाध्य भएका हुन्। पातलो बस्ती र कम जनघनत्व भएका यी ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि अभिभावकहरू प्राथमिक तहदेखि नै आफ्ना बालबच्चालाई भारतीय क्षेत्रमा लगेर बसाउनुपर्ने बाध्यता छ। जौबारीका सोनाम शेर्पाले भने, “घरबाट धाएर पुर्‍याउँदा टाढा हुन्छ। गत वर्षदेखि म आफैं उतै कोठामा बसेर नातिनी पढाइरहेकी छु।” सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६९ वर्षीया निम लमुको पनि यस्तै बाध्यता छ।

जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय आठ वर्षअघि बन्द भएको थियो। कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालय २०७२ सालमा विद्यार्थी अभावको कारण देखाइ बन्द गरिएको थियो। राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङ छिरिङ शेर्पाले बताए अनुसार सीमा क्षेत्रका धेरै बालबालिका भारतीय विद्यालयमा पढ्न जान थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भएको हो। एक समयमा ८० जनासम्म विद्यार्थी रहेको उक्त विद्यालय पुनः सञ्चालनका लागि अहिलेसम्म कुनै पहल भएको छैन।

अहिले यस क्षेत्रका करिब १५ जना बालबालिका मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन्। मानेभञ्ज्याङमा कोठा भाडामा लिएर छोराछोरी पढाइरहेकी डोमा शेर्पाले महिनाको १८ देखि २० हजार भारतीय रुपैयाँ खर्च हुने गरेको बताइन्। जौबारी मात्र नभई माइजोगमाई–२ को मेग्मास्थित सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कालपोखरीको प्राथमिक विद्यालय र सन्दकपुर–५ कै मजुवामा रहेको अर्को प्राथमिक विद्यालय पनि बन्द भइसकेको पूर्वप्रधानाध्यापक शेर्पाले जानकारी दिए।

जौबारीका थुक्तेन लामाका अनुसार विद्यार्थीहरू भारततिर गएपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएका हुन्। यसरी विद्यार्थी भारत लैजाँदा पैसा मात्र खर्च हुँदैन, नेपाली बालबालिकाले नेपालको राष्ट्रियता र स्वाभिमान जस्ता विषयहरू पनि थाहा नपाउने उनको दुखेसो छ। बन्द भएका विद्यालयहरू जीर्ण भइसकेका छन्। जौबारीको राष्ट्रिय प्राविमा भने एक वर्षअघि सशस्त्र प्रहरी बसेको थियो र त्यहाँ बसेरै उनीहरूले विद्यालय नजिकै आफ्नो भवन निर्माण गरेका छन्। सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न सम्बन्धित निकायले अहिलेसम्म कुनै चासो देखाएका छैनन्।