जोडिनुहोस
  • होमपेज
  • बजेट नहुँदा निसीखोलाको आधारभूत अस्पताल अलपत्र

बजेट नहुँदा निसीखोलाको आधारभूत अस्पताल अलपत्र

ढोरपाटन (बागलुङ)। बागलुङको निसीखोलामा निर्माणाधीन पालिकास्तरीय आधारभूत अस्पताल बजेट अभावका कारण अलपत्र परेको छ। गत पुस महिनामा सम्पन्न हुनुपर्ने यो अस्पताल अझै अधुरै छ।

निसीखोला गाउँपालिका–४ झिम्पामा १० शैय्याको आधारभूत अस्पताल निर्माणका लागि २०७८ माघमा सम्झौता भई काम सुरु भएको थियो। रु आठ करोड २४ लाख लागत अनुमान गरिएको यो अस्पताल २०८० पुस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, निर्माण कम्पनी हिन्दुङ आइएस÷एसी जेबीका प्रमुख दीपककुमार अदैका अनुसार हालसम्म ९० प्रतिशत मात्रै काम सकिएको छ। पालिकाले आवश्यक बजेट उपलब्ध गराए दुई महिनाभित्रै काम सम्पन्न गर्न सकिने उनको भनाइ छ। उनले २०८० भदौमा पेस गरेको रु एक करोड १० लाखको बिलको भुक्तानीसमेत अझै नभएको बताए।

अदैका अनुसार पालिकाबाट भुक्तानी हुन बाँकी रु एक करोड १० लाख र थप रु ६० लाख व्यवस्थापन भएमा काम अघि बढाउन समस्या हुने छैन। लामो समयसम्म काम गरेको पैसा नपाउँदा निर्माणमा कठिनाइ भएको उनले बताए। पालिकाले समयमै बजेट व्यवस्थापन गरेको भए अस्पताल गत वर्ष नै सञ्चालनमा आउन सक्ने उनको भनाइ छ।

यता, निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले संघीय सरकारले बजेट नपठाउँदा अस्पताल निर्माणमा ढिलाइ भएको बताएका छन्। गाउँपालिकाको आन्तरिक स्रोत सीमित भएकाले अस्पतालका लागि आवश्यक बजेट विनियोजन गर्न नसकिने उनको भनाइ छ। अध्यक्ष घर्तीमगरले आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरिएको जानकारी दिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका