
काठमाडौँ। सरकारले आन्दोलनरत शिक्षकहरूलाई तत्काल आफ्ना कार्यस्थलमा फर्कन अनुरोध गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विद्यार्थी भर्नाको समय, माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को राष्ट्रिय परीक्षा सञ्चालन भइरहेको अवस्थालाई मध्यनजर गर्दै विरोधका कार्यक्रम स्थगित गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई जतिसक्दो चाँडो पारित गर्नका लागि संघीय संसदको अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय भएको जानकारी दिइन्।
मन्त्री भट्टराईले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरू सम्बोधन गर्न सरकार संवेदनशील रहेको र त्यसका लागि निरन्तर संवादमा रहेको पनि बताइन्।





































