जोडिनुहोस
  • होमपेज
  • विचार फरक, तर सम्बन्ध गहिरो – सभापति देउवा – अध्यक्ष प्रचण्डको संवादले मिलायो संसद्को ताल

विचार फरक, तर सम्बन्ध गहिरो – सभापति देउवा – अध्यक्ष प्रचण्डको संवादले मिलायो संसद्को ताल

काठमाडौँ।कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको राजनीतिक समझदारीले संसद्को पछिल्लो गतिरोध अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। डेढ सातासम्म अवरुद्ध भएको संसद् देउवा–दाहाल संवादपछि खुलेको हो।

माओवादीले जेठ १३ गतेको सचिवालय बैठकबाट भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरेको थियो। सत्तापक्ष र विपक्षी दलबीच पटकपटक संवाद भए पनि सहमति नजुट्दा संसद् थलिएको थियो।

तर जेठ २५ गते बुढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटपछि दुई नेताबीच सहमति बन्न पुग्यो। त्यसपछि माओवादीले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग फिर्ता लिएर संसद् सञ्चालनमा सहमति जनाएको हो।

सत्तापक्ष र माओवादीबीच भएको दुईबुँदे सहमतिमा सरकारले भिजिट भिसा तथा अध्यागमनसम्बन्धी विषयमा नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि आवश्यक पहल गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनलाई निष्कर्षमा पुर्‍याउन सहयोग गर्ने उल्लेख छ।

यस सहमतिमा देउवा र दाहालका विश्वासिला नेताहरू—कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादीका उपमहासचिव वर्षमान पुन तथा शक्ति बस्नेतको भूमिका निर्णायक रह्यो।

ओलीप्रति आक्रोश, देउवासँग संवादमैत्री व्यवहार
गएको असारमा बनेको कांग्रेस–एमाले गठबन्धनपछि दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन्। संसद्मै उनले ओलीलाई “मुखमा रामराम, बगलीमा छुरा” भन्ने टिप्पणी गरेका थिए। तर देउवासँग भने उनी सधैं संवादमैत्री देखिँदै आएका छन्।

राष्ट्र बैंकको गभर्नर नियुक्ति जस्तै संवेदनशील विषयमा पनि देउवा र दाहालबीच गहिरो संवाद भएको माओवादी नेताहरूले बताएका छन्। कांग्रेस र एमालेबीच सहमति नजुटेपछि देउवाले दाहाललाई “ओलीजीसँग लामो सहकार्य सम्भव छैन, के गर्ने होला?” भन्दै सन्देश पठाएका थिए।

सम्बन्धमा विश्वास, सहकार्यमा उतारचढाव
२०७४ पछि ओली र दाहालबीच पार्टी एकता तथा सत्ता सहकार्य भए पनि सम्बन्ध सुमधुर बन्न सकेन। एकपटक एमालेसँग गठबन्धन गरेर राष्ट्रपति बनाउने प्रयास गरेपछि दाहाल फेरि कांग्रेससँग फर्किएका थिए। तर पछिल्लो फागुनमा फेरि वाम एकताको नारा दिँदै दाहालले एमालेसँग हात मिलाउँदा देउवाले उनलाई ‘धोकेबाज’ भन्ने कडा टिप्पणी गरेका थिए।

यद्यपि यी सबै उतारचढावका बाबजुद देउवा र दाहालबीच व्यक्तिगत सम्बन्धमा विश्वास कायम देखिन्छ।माओवादी महासचिव देव गुरुङले भिजिट भिसा प्रकरणमा माओवादीले सुशासनको मुद्दा उठाएको भन्दै सहकार्य नेता वा दल हेरेर नभई मुद्दाको आधारमा हुने बताएका छन्। उनले भने, “कांग्रेससितको सहकार्य मुद्दाभन्दा सरकारसँग सम्बन्धित थियो। कांग्रेस–एमाले गठबन्धन कति खुकुलो हो, कति कसिएको छ भन्ने उनीहरूले जानून।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका