जोडिनुहोस
  • होमपेज
  • एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।

पहिले असारको पहिलो साता नतिजा सार्वजनिक गर्ने योजना थियो। तर, गत २० चैतदेखि २९ दिनसम्म शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिलो भएको र त्यसकै असरले नतिजा प्रकाशन मिति सारिएको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिए।

“शिक्षकहरूको आन्दोलनका कारण परीक्षण ढिलो भयो। आउजाउमा लाग्ने समयसहित ३१ दिनको ढिलाइ भयो,” उहाँले भन्नुभयो, “अब नतिजा असारको तेस्रो साताभन्दा अघि सम्भव छैन।”

हाल उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ। “बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम भइरहेको छ। केही केन्द्रमा परीक्षण बाँकी छ। सबै परीक्षण सकिएपछि इन्ट्री, रुजु र त्रुटि नदेखिने गरी नतिजा सार्वजनिक गरिनेछ,” डा. भट्टराईले बताए।

यस वर्षको एसईई परीक्षा २०७८ चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका