जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ। नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले भारतले सामाजिक, आर्थिक तथा प्राविधिक क्षेत्रमा हासिल गरेको प्रगतिबाट नेपाल लाभान्वित भएको उल्लेख गर्दै अझ बढी लाभ लिन चाहेको बताए । “एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिका रूपमा भारतको प्रगतिबाट हामी प्रसन्न छौँ । निकट छिमेकीका नाताले नेपालले भारतका उपलब्धिबाट लाभ लिएको छ र अझ बढी लाभान्वित हुन चाहन्छ,” राष्ट्रपति पौडेलको भनाइ प्रेस सल्लाहकार किरण पोखरेलले उद्धृत गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपाल–भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरमा शताब्दीऔँदेखि सम्बन्ध रहँदै आएको स्मरण गर्दै यो सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान, विश्वास र मैत्रीपूर्ण सहयोगमा आधारित रहेको बताए । उनले नेपालले भारतसँगको सम्बन्धलाई सधैं उच्च प्राथमिकतामा राख्ने र भारत सरकारको ‘छिमेक पहिले नीति’को सराहना गर्ने उल्लेख गरे ।

विदेश सचिव मिश्रीले पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाललाई उच्च स्थानमा राखिएको जानकारी दिए । आफ्नो भ्रमणका क्रममा दुवै देशबीच आधुनिक युगको विकास र प्रगतिका लागि ‘कनेक्टिभिटी’ विस्तारका साथै पारस्परिक हितका विषयमा सम्बद्ध अधिकारीहरूसँग छलफल गर्ने अवसर मिलेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका