जोडिनुहोस
  • होमपेज
  • गहुँ छाड्दै मकै रोज्दै झापाका किसान, उत्पादन क्षेत्रमा फेरियो प्राथमिकता

गहुँ छाड्दै मकै रोज्दै झापाका किसान, उत्पादन क्षेत्रमा फेरियो प्राथमिकता

भद्रपुर (झापा)। झापामा पछिल्ला वर्षहरूमा गहुँ उत्पादन हुने क्षेत्रफल घट्दै गएको छ भने किसानहरू मकै खेतीतर्फ आकर्षित भएका छन्। सिँचाइको असुविधा, कम उत्पादन र जङ्गली हात्तीले गहुँबालीमा पुर्‍याउने क्षति जस्ता कारणले किसानहरूले गहुँको विकल्प खोज्न थालेका हुन्।

कचनकवल गाउँपालिकाका कार्यपालिका सदस्य एवं स्थानीय किसान उमाशङ्कर गणेशले १५ वर्षअघि नै गहुँखेती छोडेर मकै खेती सुरु गरेका थिए। उनले जङ्गली हात्तीले गहुँबाली खाइदिने भएकाले जोगाउन गाह्रो हुने गरेको र मकै खेतीमा गहुँको तुलनामा बढी उत्पादन हुने तथा हात्तीले पनि कम क्षति पुर्‍याउने गरेको बताए। सिँचाइ सुविधा र प्रशस्त गोबर मल प्रयोग गर्न सके एक बिघामा एक मेट्रिक टनसम्म मकै उत्पादन हुने उनको अनुभव छ। कृषि ज्ञान केन्द्र झापाको सहयोगमा शून्य खनजोत कार्यक्रमअन्तर्गत मकैखेती गर्दा लागत पनि घटेको उनले बताए।

अर्जुनधारा नगरपालिका–४ का किसान प्रेम आचार्यले पनि १० वर्षदेखि गहुँखेती गर्न छाडेका छन्। हिउँदे खेतीमा गहुँ पाक्ने समयमा तोरी र मकै जस्ता दुई बाली लगाउन सकिने र राम्रो आम्दानी हुने भएकाले उनले गहुँको विकल्प रोजेका हुन्।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार झापामा गहुँ उत्पादन हुने जमिनको क्षेत्रफल निरन्तर घटिरहेको छ। आव २०७९/८० मा चार हजार पाँच सय हेक्टरमा गहुँखेती गरिएकोमा आव २०८०/८१ मा तीन हजार हेक्टरमा मात्र खेती गरिएको थियो। तर, सोही अवधिमा मकैखेती हुने क्षेत्रफल बढेर ४४ हजार ३५० हेक्टर पुगेको छ। गहुँको तुलनामा मकै लगायत अन्य बालीबाट बढी फाइदा हुने भएपछि किसानहरू गहुँखेतीप्रति कम आकर्षित भएको भण्डारीले बताए।

धेरै टिप्पणी गरिएका