जोडिनुहोस

किन घातक बन्दै छ कोइला ?

एजेन्सी : गत जनवरीमा पद सम्हालेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनको मुद्दामा आफ्नो धारणालाई स्पष्ट रूपमा राखे। उनले पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिने घोषणा मात्र गरेनन्, अमेरिकामा कोइला उत्पादन बढाउनका लागि निर्देशन समेत जारी गरे।

गत हप्ता पत्रकारहरूसँगको कुराकानीमा उनले भने‚ ‘अमेरिका उत्कृष्ट छ, सफा कोइला उद्योगमाथि प्रतिबन्ध कायम राख्नु सही होइन।’ योसँगै संघीय अधिकारीहरूलाई कोइलाको उत्खनन र निर्यातमा बाइडेन प्रशासनले लगाएको प्रतिबन्ध छिटो हटाउन आदेश दिए। यसका अलावा, आर्टिफिशियल इन्टेलिजेन्सका लागि पर्याप्त बिजुली उपलब्ध गराउन कोइलाबाट चल्ने पुराना पावर प्लान्ट्सहरू पनि ग्रिडसँग जोडिराख्न भने। संसारका अन्य देशहरू भने नवीकरणीय ऊर्जाका स्रोततर्फ अगाडि बढिरहेका छन्।

कोइलाको सुरुवात

करोडौं वर्ष पहिले ज‌गलमा उम्रिएका बिरुवा, समयसँगै दबाब र तातोका कारण ठोस कोइलामा परिवर्तन भए। कोइलामा ती बिरुवाहरूको ऊर्जा कैद हुन्छ। पूरै कालो कोइला र नरम खैरो कोइला गरी मुख्यतः दुई प्रकारका कोइला हुन्छन्, जसलाई लिग्नाइट भनिन्छ। ती दुवै नवीकरणीय ऊर्जाका स्रोत होइनन्।

कोइला बाल्दा निकै धेरै उर्जा प्राप्त हुन्छ, जसको कारण १९ औं शताब्दीको मध्यदेखि कोइला, औद्योगीकरणको मुख्य इन्धन बन्यो। कोइला खानी उत्खनन गरेर ठूला ठूला कारखाना चलाइयो, जसले द्रुत विकासको बाटो खोलिदियो। बेलायतदेखि मध्य यूरोप अनि अमेरिकासम्म कालो सुन पनि समेत भनिने कोइलाले प्राविधिक उन्नतिका नयाँ सम्भावनालाई जन्म दियो।

स्टीम (भाप) इन्जिनका लागि सबैभन्दा महत्त्वपूर्ण इन्धनको स्रोत बनेको कोइला खानीहरूबाट पानी निकाल्न मद्दत गरे, कपडाको फ्याक्ट्री सुरु गरियो अनि रेल चलाइयो। ​यद्यपि कोइलाबाट चल्ने बस्तुले मानव जाति र प्रकृतिलाई निकै हानि पुर्‍यायो। वायु प्रदूषण र पृथ्वीको तापक्रममा पनि असर गरेको छ।

जलवायु विनाशक

कोइला बाल्दा अन्य जीवाष्म इन्धनबाटभन्दा कयौँ गुणा धेरै कार्बनडाइअक्साइड निस्कन्छ। यसै कारण कोइलालाई जलवायु परिवर्तनको प्रमुख कारण मानिन्छ, जुन वर्तमान र भविष्यका लागि संसारभरमा करोडौँ मान्छेको जीविकाका लागि खतरा बनिरहेको छ। बढ्दो खतरालाई मद्देनजर गर्दै धेरै देशहरूले केही वर्षअघि नै कोइलाको प्रयोग विस्तारै बन्द गर्ने निर्णय गरेका थिए। आज पनि धेरै विशेषगरी युरोपेली देशहरू यही बाटोमा हिँडिरहेका छन्।

यसका बाबजुद अहिले पनि संसारभर पहिलेको भन्दा धेरै कोइला बालिँदै छ। मुख्य गरी चीन, भारत र इन्डोनेसिया लगायतका बढ्दो जनसंख्या र अर्थव्यवस्थालाई ऊर्जाको अधिक आवश्यकता भएका देशले कोइलाको प्रयोग धेरै गरिरहेका छन्।

युरोपमा कोइलाको प्रयोग घटाउने प्रयास

अमेरिकी राष्ट्रपति ट्रम्पले जर्मनीबाट प्रोत्साहित भएर कोइला र जीवाष्म इन्धनको प्रयोगमा जोड दिइएको दाबी गरेका छन् तर वास्तविकता फरक रहेको अन्ताराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गर्दै आएका छन्।

जर्मनीमा कोइलाको प्रयोग कयौँ वर्षदेखि लगातार घटाइँदै छ। सन् २०३८ सम्म कोइला पूर्णरूपमा बन्द गर्ने जर्मनीको योजना छ। सन् २००० पछि जर्मनीमा सौर्य ऊर्जा, वायु ऊर्जा र बायो ग्यास जस्ता नवीकरणीय ऊर्जा स्रोतमा लगातार वृद्धि भएको छ र वर्तमानमा जर्मनीको आधाभन्दा बढी बिजुलीको आवश्यकता पूरा गरिरहेको छ।

युरोपेली संघमा पनि कोइलाबाट विद्युत् उत्पादन निरन्तर कम गरिँदै छ। छुट्टाछुट्टै देशहरूका भिन्नाभिन्नै लक्ष्यका बाबजुद २०५० सम्म शून्य उत्सर्जनसम्म पुग्ने संघको उद्देश्य छ। यद्यपि अमेरिकामा पनि कोइलाको प्रयोग अघिल्ला वर्षमा घटिरहेको थियो। २००५ को तुलनामा हाल अमेरिकामा कोइलाबाट एक तिहाइभन्दा पनि कम विद्युत् उत्पादन गरिन्छ। यद्यपि ट्रम्प प्रशासनको नयाँ घोषणाले भने लगातारको गिरावटलाई रोक्न सक्ने अनुमान गरिएको छ। राष्ट्रपति ट्रम्पले वायु र सौर्य ऊर्जाको विस्तारलाई पनि रोकिरहेका छन्।

खतरनाक प्रदूषण

कोइला पर्यावरणका लागि हानिकारक मात्र नभई मानव स्वास्थ्यकै लागि घातक रहेको छ। २०२१ मा प्रतिष्ठित विश्वविद्यालयहरूले गरेका अनुसन्धानअनुसार कोइला, तेल र ग्यास बाल्दा उत्पन्न हुने सूक्ष्म कणहरूको कारण हरेक वर्ष झण्डै ८० लाख मानिसको मृत्यु हुने गरेको छ। यीमध्ये ६० प्रतिशतभन्दा बढी मृत्यु भारत र चीनमा हुने गरेको छ। दुवै देशले अहिलेसम्म कोइलालाई पूर्ण रूपमा बन्द गर्नका लागि कुनै लक्ष्य निर्धारण गरेका छैनन्। उनीहरुले आफ्ना अर्थव्यवस्था र ऊर्जा सुरक्षाका लागि कोइलाको प्रयोग जरुरी रहेको तर्क गर्दै आएका छन्।

स्वास्थ्य र अर्थव्यवस्थामा कोइलाको असर

संसारमा स्वच्छ ऊर्जातर्फ तीव्र रूपमा अगाडि बढे यसको प्रत्यक्ष लाभ मानव स्वास्थ्यमा हुने अर्थात् रोगको उपचारमा लाग्ने खर्च कम हुन सक्ने विश्वास गरिएको छ।

वैज्ञानिकहरूले पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा धेरै हुनबाट रोक्नका लागि सबै विकसित देशहरूले सन् २०३० सम्म र सबै विकासशील देशहरूले २०४० सम्म कोइलाको प्रयोग पूर्ण रुपमा बन्द गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्।