समाचार
पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको चर्चाबीच ओली-भण्डारी भेट, के भयो कुरा ?

काठमाडौं। नेकपा एमालेको आगामी नेतृत्वका विषयमा चासो बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ।
स्रोतका अनुसार दुई नेताबीच सौहार्दपूर्ण वातावरणमा समसामयिक राजनीतिक अवस्था, एमालेभित्रको स्थिति र भावी रणनीतिका विषयमा छलफल भएको हो। भेटमा एमालेका एक पदाधिकारी पनि सहभागी थिए।
पछिल्लो समय प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच दूरी बढेको चर्चा भइरहेकाले यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। भेटमा दुवै नेताले पार्टीभित्रको विवादबारे बाहिर जस्तो अवस्था नभएको स्पष्ट पारेका छन्।
भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले हालै सम्पन्न चीन भ्रमणका अनुभवबारे जानकारी गराएको स्रोतको भनाइ छ। भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे भइरहेको चर्चाबीच भएको भेटलाई एमाले नेताहरूले सकारात्मक रूपमा लिन आग्रह गरेका छन्।