समाचार
कांग्रेस उम्मेदवार सिफारिस : पदाधिकारीलाई प्राथमिकता, शीर्ष नेताहरू साबिककै क्षेत्रमा

काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका पदाधिकारी तथा प्रभावशाली नेताहरू साबिककै निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्। कांग्रेसका क्षेत्रीय तथा जिल्ला कार्यसमितिले पार्टी पदाधिकारीलाई प्राथमिकतामा राख्दै नयाँ पुस्तालाई समेत समेटेर उम्मेदवार सिफारिस गरेका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुरा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं. १ तथा उपसभापति धनराज गुरुङ स्याङ्जा क्षेत्र नं. १ र २ बाट उम्मेदवार सिफारिस भएका छन्।
महामन्त्री गगनकुमार थापा काठमाडौँ क्षेत्र नं. ४, सर्लाही क्षेत्र नं. ४, तेह्रथुम र धनकुटा तथा महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस भएका हुन्।
सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा क्षेत्र नं. ३, उमाकान्त चौधरी बारा क्षेत्र नं. १, महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुर क्षेत्र नं. १, भीष्मराज आङ्दम्बे पाँचथर, जीवन परियार कास्की क्षेत्र नं. १, महेन्द्र यादव धनुषा क्षेत्र नं. ४ तथा किशोरसिंह राठौर बाँके क्षेत्र नं. ३ र बर्दिया क्षेत्र नं. २ बाट उम्मेदवार सिफारिस भएका छन्। सहमहामन्त्री बदीप्रसाद पाण्डेले यसअघि बाजुराबाट निर्वाचित भए पनि यसपटक उम्मेदवारी नदिने घोषणा गरेका छन्।
यसैगरी कोषाध्यक्ष उमेश श्रेष्ठ चितवन क्षेत्र नं. २ र ३, प्रवक्ता डा. प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं. ५ र नुवाकोट क्षेत्र नं. १ बाट सिफारिस भएका छन्। केन्द्रीय सदस्यहरूमा डा. शेखर कोइराला मोरङ क्षेत्र नं. ६, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नं. २, प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं. १, विमलेन्द्र निधि धनुषा क्षेत्र नं. ३, डा. शशाङ्क कोइराला नवलपुर क्षेत्र नं. १ तथा डा. आरजु राणा कैलाली क्षेत्र नं. ५ र बर्दिया क्षेत्र नं. २ बाट उम्मेदवार सिफारिस भएका हुन्।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले १६५ निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरी केन्द्रीय कार्यालयमा पठाइएकामध्ये अधिकांश सिफारिस प्राप्त भइसकेको जानकारी दिएका छन्।





































