
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान प्रक्रिया सम्पन्न भएको छ। काठमाडौंमा जारी महाधिवेशनमा कुल २ हजार २ सय २७ जना प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गरेका छन्। अब नयाँ नेतृत्वको फैसला विद्युतीय मतदान मेसिनमा सुरक्षित भएको छ।
निर्वाचन समितिका अनुसार महाधिवेशनका लागि चयन गरिएका कुल प्रतिनिधिमध्ये ३६ जना मतदानमा अनुपस्थित रहेका छन्। यसपटक एमालेको भावी नेतृत्वका लागि प्यानलगत प्रतिस्पर्धा देखिएको छ। पार्टीको सर्वोच्च पद अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र प्रभावशाली नेता ईश्वर पोखरेलबीच चुनावी भिडन्त भएको छ।
त्यस्तै, महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे चुनावी मैदानमा उत्रिएका छन्। अन्य पदाधिकारी पदहरूमा पनि दुवै पक्षले आ-आफ्नो प्यानल खडा गरेर प्रतिस्पर्धालाई रोचक बनाएका छन्।
मतदान प्रक्रिया सम्पन्न भएसँगै अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ। निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मतदान मेसिनबाट ‘चिप्स’ निकाल्ने कार्य भइरहेको छ। प्रत्येक मेसिनको छुट्टाछुटै मुचुल्का तयार पारिनेछ।
निर्वाचन टोलीले प्राविधिक पक्षबारे जानकारी दिँदै भनेको छ, एउटा मेसिनको मुचुल्का तयार पार्न करिब दुई मिनेट लाग्ने अनुमान छ। यस आधारमा ८० वटा मेसिनको मुचुल्का तयार पार्न झण्डै १६० मिनेट (दुई घण्टा ४० मिनेट) लाग्ने देखिन्छ। मुचुल्का तयार भएपछि मेसिनलाई लक गरी कोड नम्बरका आधारमा चिप्स सिल गरिनेछ।
पछाडि सर्वपक्षीय बैठक बसेर औपचारिक रूपमा नतिजा घोषणाको प्रक्रिया सुरु हुने एमाले निर्वाचन स्रोतले जनाएको छ।



































