जोडिनुहोस
  • होमपेज
  • शिक्षकको अडान कायमै: प्रधानमन्त्रीसँगको छलफल निष्कर्षविहीन, आन्दोलन जारी रहने

शिक्षकको अडान कायमै: प्रधानमन्त्रीसँगको छलफल निष्कर्षविहीन, आन्दोलन जारी रहने

काठमाडौं। नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन आज पनि जारी राख्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार राति भएको दुई घण्टा लामो भेटवार्तापछि पनि परिस्थिति सकारात्मक नदेखिएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसँगको संवादबारे जानकारी दिँदै शिक्षकका मागहरू स्पष्ट र शिष्टतापूर्वक राखिए पनि सरकारको दृष्टिकोणमा अपेक्षित परिवर्तन नदेखिएको उल्लेख गरेका छन्।

“हामी एक–दुई साना माग पूरा भए भनेर चुप लाग्ने होइनौं। हाम्रो आन्दोलनको मूल उद्देश्य विगतका सहमति सम्बोधन गर्दै स्पष्ट ऐनमार्फत शिक्षकको हक र अधिकार सुनिश्चित गर्नु हो,” अध्यक्ष सुवेदीले लेखेका छन्।

प्रधानमन्त्रीसँगको भेटमा शिक्षक–कर्मचारीका माग, विद्यालय शिक्षा ऐन जारी गर्ने आवश्यकता र आन्दोलनका कारण उत्पन्न परिस्थिति लगायतका विषयमा गहन छलफल भएको थियो। प्रधानमन्त्री ओलीले सरकारले सम्बोधन गर्न सक्ने विषयमा छलफल गरेर निर्णय लिने र ऐन जारी गर्न तत्परता देखाउने आश्वासन दिए पनि महासंघले आन्दोलनको विकल्प अहिले नदेखेको जनाएको छ।

महासंघको टोलीले शुक्रबार राति नै सभामुख देवराज घिमिरेसँग पनि छुट्टै छलफल गरेको थियो। छलफलमा विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने उपायबारे छलफल केन्द्रित थियो।

महासंघले आन्दोलनमा संलग्न सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई मर्यादित, संयमित र अनुशासित भएर आन्दोलनमा डटिरहन आग्रह गरेको छ। अध्यक्ष सुवेदीले स्मरण गराए, “हिजोका दिनमा हामीले पाएको सबै उपलब्धि आन्दोलनकै उपज हुन्, अब पनि त्यही बाटोबाट न्याय सुनिश्चित हुनेछ।”

शिक्षक महासंघको टोलीमा अध्यक्ष सुवेदीसँगै सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका