जोडिनुहोस
  • होमपेज
  • देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं। सरकारले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत आज र भाेली (शनिबार र आइतबार) देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका अनुसार, भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई खुवाइने छ। सोही अवसरमा एक वर्षदेखि पाँच वर्ष उमेर समूहका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइनेछ। साथै, बालबालिकालाई बालभिटा पनि वितरण गरिने र कुपोषणको परीक्षणसमेत गरिनेछ।

स्वास्थ्यकर्मी र स्वयंसेविकाको सक्रियता

कार्यक्रम सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालित गरिएका छन्।

कार्यक्रमको इतिहास
भिटामिन ‘ए’ कार्यक्रम सन् १९९३ (विक्रम संवत २०५०) मा आठ जिल्लाबाट सुरु भई सन् २००२ (वि.सं. २०५९) देखि देशभर लागू गरिएको हो।
जुका औषधि वितरण कार्यक्रम सन् १९९९ (वि.सं. २०५६) मा १३ जिल्लाबाट सुरु भई सन् २०१० (वि.सं. २०६७) मा राष्ट्रिय स्तरमा विस्तार गरिएको हो।
बालभिटा वितरण कार्यक्रम सन् २००७ (वि.सं. २०६४) देखि सुरु गरिएको हो।

सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने व्यवस्था गर्दै आएको छ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका