जोडिनुहोस
  • होमपेज
  • नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले नेपाली समाजलाई जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधताबीच बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाबाट उत्पन्न विभेद र उत्पीडनको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनमार्फत शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न प्रेरणा दिएको बताए ।

उनका अनुसार संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । उनले संविधानले प्रत्याभूत गरेका सेवामा सबै नागरिकको समान पहुँच र सामाजिक सुरक्षाको सुनिश्चिततामा जोड दिए ।

राष्ट्रपतिले संविधानको मर्मलाई व्यवहारमा उतार्न सबैलाई इमानदार प्रयास गर्न आह्वान गरे । उनले नेपालको संस्कृति र प्रकृतिले रोजगारी र आम्दानीका असीमित सम्भावना खोलेको उल्लेख गर्दै जलस्रोत र ऊर्जाको उचित उपयोग र सुशासनमार्फत नेपाललाई छिट्टै समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे ।

हिमाल, पहाड र तराईको विविध संरचना र बहुभाषी, बहुजाति, बहुसंस्कृतिलाई संविधानले समान संरक्षण दिएको उनले बताए । आपसी सद्भाव र सहअस्तित्वमा आँच आउने काम कसैबाट नहोस् भन्ने अपेक्षा पनि राष्ट्रपति पौडेलले गरे ।

संविधान दिवसको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिँदै गणतन्त्र स्थापनाका क्रममा जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे । साथै, लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याउने नेताहरू, कार्यकर्ताहरू र आम नागरिकको भूमिकाप्रति कृतज्ञता प्रकट गरे ।

धेरै टिप्पणी गरिएका