
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत आज लिने भएका छन् । मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए ।
संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रदेशसभामा विद्यमान अवस्थाअनुसार मुख्यमन्त्री यादवले सहजै विश्वासको मत प्राप्त गर्ने अनुमान गरिएको छ । विश्वासको मत प्राप्त गरेपछि मधेस प्रदेश सरकारको कार्यकाल थप स्थिर हुने र बजेट कार्यान्वयन, विकास निर्माण तथा सुशासनका कार्यमा सरकार अझ सक्रिय हुने अपेक्षा गरिएको छ ।




































