
काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काको कार्यशैलीविरुद्ध आन्दोलित भएका छन्। एक महिनाअघि वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणको दोषी अझै पक्राउ नपरेपछि जनप्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमै बसेर सेवा दिने निर्णय गरेका हुन्। मेयर, उपमेयर र सबै १९ वडाका अध्यक्षहरू सिडिओ र एसपीको ‘निष्क्रियता’ प्रति आक्रोशित छन्।
हामी जनताको सेवा रोक्दैनौं, तर वडामा सुरक्षित छैनौं, त्यसैले प्रशासनमै टेवल राखेर काम गर्छौं,प्रवक्ता न्यौपानेले भने। न्यौपानेमाथि असार ४ गते सार्वजनिक जग्गा अतिक्रमण रोक्न खोज्दा समूहगत आक्रमण भएको थियो। टाउकोमा चोट लागे पनि दोषीहरू अझै फरार छन्। प्रहरीले एक जना पक्राउ गरेर परीक्षा दिन छुट दिएको थियो।
वडा अध्यक्षहरू दुई दिनसम्म प्रशासन परिसरमै सेवा दिने र त्यसपछि आन्दोलनको अर्को चरण घोषणा गर्ने तयारीमा छन्। प्रशासन जनप्रतिनिधिलाई सुरक्षा दिन असमर्थ छ भने आम जनताको अवस्था कल्पना गर्न सकिन्छ,वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाले भने।
सिडिओ स्किम श्रेष्ठ कार्यशैलीका कारण पहिलेदेखि नै विवादमा छिन्। उनले हेटौंडा अस्पतालविरुद्धको आन्दोलनमा कडाइ अपनाएकी थिइन् भने पत्रकारहरूसँग व्यवहारको विषयमा समेत आलोचना भोगेकी छन्। अब जनप्रतिनिधिहरूको आन्दोलन कति सशक्त बन्नेछ र प्रशासन त्यसमा कसरी प्रतिक्रिया दिनेछ भन्ने चासो बढ्दो छ।




































