समाचार
गौतमबुद्ध विमानस्थल निष्क्रिय, संघर्ष समितिको प्रधानमन्त्रीलाई आग्रह – भारत भ्रमणको उडान भैरहवाबाट गर्नुपर्ने

काठमाडौं । उद्घाटन भएको तीन वर्ष पुगिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुनुका कारण विवादमा तानिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः चर्चामा आएको छ। भैरहवास्थित विमानस्थललाई नियमित सञ्चालनमा ल्याउन दबाब स्वरूप रुपन्देहीका स्थानीय तहका प्रमुखहरू सम्मिलित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै आसन्न भारत भ्रमणको उडान भैरहवाबाटै गर्न आग्रह गरेको छ।
संघर्ष समितिका संयोजक तथा सिद्धार्थनगरका मेयर इश्तियाक अहमद खाँले इमेलमार्फत पठाएको पत्रमा भनिएको छ, “प्रधानमन्त्रीज्यू भारत भ्रमण जाँदा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न विशेष आग्रह गर्दछौं। यसले विमानस्थल सञ्चालनका लागि आवश्यक कूटनीतिक पहलमा सकारात्मक सन्देश दिनेछ।”
अर्बौं रुपैयाँ खर्च गरेर निर्माण भएको विमानस्थल नियमित सञ्चालनमा नआउँदा लुम्बिनी प्रदेशकै विकास रोकिएको र निजी क्षेत्रको लगानी समेत जोखिममा परेको समितिको दाबी छ। होटल व्यवसायी ऋण तिर्न नसकी घाटामा गएको, कतिपय होटल विक्रि हुनुपरेको, उद्योग–पर्यटनमा लगानी ठप्प भएको उल्लेख गर्दै सरकारले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने माग गरिएको छ।
स्थानीयवासी र व्यवसायीहरूले काठमाडौंस्थित पर्यटन उद्योगका केही ठूला खेलाडीको दबाबमा सरकारले भैरहवाको विमानस्थलप्रति बेवास्ता गरेको आरोप लगाएका छन्। गत अप्रिलदेखि अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थलमा आगामी अक्टोबरदेखि मात्र थाई एअरले उडान सुरु गर्ने तयारी गरेको छ। विमानस्थलमा उडान गर्न आवश्यक आरएनपी–एआर प्रविधि लागू भए पनि नियमित उडान स्थिर नभएको, नेपाल एअरलाइन्स तथा हिमालयन एअरलाइन्सले जहाज थपेर गौतमबुद्ध विमानस्थललाई प्राथमिकता दिनुपर्ने, कार्गो सुविधा सञ्चालनमा ल्याउनुपर्ने लगायतका माग संघर्ष समितिले अघि सारेको छ।
विमानस्थलको जग्गा खरिद तथा मुआब्जा वितरणमा नीतिगत अनियमितता भएको आशंका गर्दै सार्वजनिक लेखा समितिले छानबिन गर्नुपर्ने मत राखेको छ। करिब साढे २२ अर्ब मुआब्जा वितरणमा ‘कमसल जग्गा’ महँगा दरमा खरिद गरिएको भन्दै शंका प्रकट गरिएको छ। बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेको यो विमानस्थललाई धार्मिक पर्यटनको प्रवेशद्वारको रूपमा विकास गर्ने योजना थियो। तर, अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि विदेशी पर्यटकको आगमन शून्य बराबर छ, जसले पर्यटन व्यवसायीहरूलाई निराश बनाएको छ।
संघर्ष समितिले छिट्टै प्रधानमन्त्रीलाई भेटेर प्रत्यक्ष आग्रह गर्ने, साथै विदेशी गुम्बा र दूतावासहरूसँग समन्वय गरेर विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएको छ।
































