
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलतालाई नियन्त्रण गर्दै बजार ब्याजदरमा स्थायित्व कायम गर्न आज (आइतबार) ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले यो रकम बजारबाट खिच्न लागेको हो । हाल ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको कुल निक्षेपका कारण वित्तीय प्रणालीमा तरलताको चाप बढ्दै गएको अवस्थामा राष्ट्र बैंकले यो कदम चालेको हो ।
बैंक तथा वित्तीय संस्थामा तरलताको अधिकताले ब्याजदरमा आउन सक्ने उतारचढावलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले नियमित रूपमा यस्ता उपकरणहरू प्रयोग गर्दै आएको छ । आजको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउनेछन् । निक्षेप संकलनको रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदर अनुसार सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकता दिई आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने व्यवस्था छ ।
अनलाइन खरिद प्रणालीमार्फत हुने यो बोलकबोलमा ब्याजदरको निर्धारण बजार माग र आपूर्तिका आधारमा हुनेछ । आज बोलकबोल गरिने निक्षेप संकलन उपकरणको साँवा र ब्याज भुक्तानी २०८२ असोज १२ गते हुने राष्ट्र बैंकले जानकारी दिएको छ । न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ, जुन ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी हुनुपर्नेछ ।
केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन गरी बजार ब्याजदरलाई व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने प्रावधान रहेको छ । यही प्रावधानलाई टेकेर राष्ट्र बैंकले वित्तीय बजारमा स्थिरता कायम गर्न र तरलताको उचित व्यवस्थापन गर्न निरन्तर यस्ता पहलहरू गर्दै आएको छ ।





































