जोडिनुहोस
  • होमपेज
  • अनुदान नदिएसम्म काठमाडौं नछोड्ने उखु किसानको चेतावनीः उखु किसानले एक अर्ब बढी भुक्तानी पाउन बाँकी

अनुदान नदिएसम्म काठमाडौं नछोड्ने उखु किसानको चेतावनीः उखु किसानले एक अर्ब बढी भुक्तानी पाउन बाँकी

काठमाडौं । सरकारले उखुमा दिने अनुदान आधा घटाएपछि तराई–मधेशका किसानहरू राजधानीमा सडकमा उत्रिएका छन्। किसानहरूले सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ दिने निर्णय उल्टाएर ३५ रुपैयाँमा सीमित गरेको विरोधमा काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका हुन्।

उखु उत्पादक महासंघको नेतृत्वमा सयौं किसानहरू आज बिहान गौशालाबाट नारा लगाउँदै माइतीघर मण्डलातर्फ जुलुससहित अघि बढे। उनीहरूले सरकारले तत्काल ७० रुपैयाँ दरको अनुदान भुक्तानी गर्नुपर्ने माग राखेका छन्। महासंघका संयोजक श्यामबाबु रायका अनुसार चिनी उद्योगहरूले किसानलाई प्रतिक्विन्टल ५८५ रुपैयाँ भुक्तानी गरिसकेका छन्, तर सरकारले दिनुपर्ने रकम अझै नपाएकाले किसान आन्दोलनमा उत्रिन बाध्य भएका हुन्। उनले भने, “उखुको मूल्य राज्यले नै निर्धारण गर्छ। त्यस्तो अवस्थामा किसानलाई दिने भनिएको रकम नदिनु अन्याय हो।”

यो आन्दोलनमा कोशीदेखि सुदूरपश्चिमसम्मका किसानहरूको सहभागिता छ। सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा र नवलपरासीसहितका जिल्लाबाट करिब ६ सय किसान काठमाडौं आएका छन्। महासंघले तत्कालका लागि चार दिने आन्दोलन कार्यक्रम घोषणा गरेको छ। राय भन्छन्, “यदि सरकारले माग तत्काल पूरा गर्छ भने आन्दोलन फिर्ता लिन तयार छौं। तर, माग पूरा नभएसम्म हामी आन्दोलन छोड्दैनौं।” सरकारले भने बजेट अभाव देखाउँदै अनुदान कटौती गरिएको जनाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिक्विन्टल ७० रुपैयाँको अनुदान प्रस्ताव गरेको भए पनि मन्त्रिपरिषद्ले आधा घटाएर ३५ रुपैयाँ मात्र स्वीकृत गरेको हो।

गत आर्थिक वर्ष १३ वटा चिनी मिलमा किसानहरूले बिक्री गरेको करिब २ करोड १५ लाख क्विन्टल उखुको आधारमा सरकारले अझै करिब १ अर्ब ६० करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options