
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन—जी आन्दोलनका क्रममा घाइते भएकाहरूसँग भेट गरेका छन् ।
शुक्रवार मध्यान्ह सञ्चारमन्त्री खरेल त्रिवि शिक्षण अस्पताल पुगेर जेन—जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेटेका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन् । आन्दोलनकै उपलब्धिस्वरुप तत्कालीन केपी शर्मा ओली सरकार पतन भयो र अन्तरिम सरकारकी प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त भएकी छन् ।
कार्की मन्त्रीपरिषद्मा सञ्चारमन्त्रीको रूपमा खरेल नियुक्त भएका छन् । मन्त्री नियुक्त भएको केही दिनपछि उनले शुक्रवार जेन—जी आन्दोलनका घाइतेहरूसँग भेट गरेर उनीहरूको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् ।
साथै घाइतेहरूको स्वास्थ्यलाभको कामनासमेत गरे । घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग उनले घाइतेहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र जेन—जीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।




































