जोडिनुहोस
  • होमपेज
  • कांग्रेसका वरिष्ठ पदाधिकारी प्रतिनिधिसभा निर्वाचन नलड्ने

कांग्रेसका वरिष्ठ पदाधिकारी प्रतिनिधिसभा निर्वाचन नलड्ने

काठमाडौं। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका केही वरिष्ठ पदाधिकारीले चुनाव नलड्ने निर्णय गरेका छन्।

कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्री पाण्डेले निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन्।

शर्मा र पाण्डेले सार्वजनिक रूपमा चुनाव नलड्ने निर्णय गरिसकेका छन् भने महामन्त्री थापाले बिहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रतिनिधिसभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने बताएका छन्।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार, थापाले नेतृत्व परिवर्तन भएमा मात्र चुनाव लड्ने संकेत दिएका हुन्। हाल तत्काल नेतृत्व परिवर्तनको सम्भावना भने देखिएको छैन।

शर्मा र पाण्डेले नयाँ पुस्तालाई अवसर दिन चुनाव नलड्ने निर्णय गरेको प्रतिक्रिया दिएका छन्।