जोडिनुहोस
  • होमपेज
  • फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की।पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवातालको सीमाङ्कन कार्य अन्तर्गत हालसम्म ताल किनारमा ३६० वटा सीमा स्तम्भ (पिल्लर) गाडिएको छ।

सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको संरक्षण तथा क्षेत्र निर्धारण गर्न पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकारको संयुक्त पहलमा गत जेठ १७ गतेदेखि पिल्लर गाड्ने कार्य सुरू गरिएको हो।

पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीका अनुसार ताल क्षेत्रको चारकिल्लामा कुल १,०५५ पोल गाडिने योजना छ। हाल भकुन्डे माछा पोखरी क्षेत्रमा सीमास्तम्भ गाड्ने कार्य भइरहेको छ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले आज पिल्लर गाड्ने कार्यस्थलको निरीक्षण गर्दै यो ऐतिहासिक कार्यलाई सफल पार्न सबै पक्षको समन्वय र योगदान अतुलनीय रहेको बताए। उनले सर्वोच्चको आदेश पालना गर्दै तालको सौन्दर्य र संरक्षणमा महानगर प्रतिबद्ध रहेको पनि स्पष्ट गरे।

पछिल्लो अध्ययनअनुसार फेवातालको क्षेत्रफल १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम (६.३४३ वर्गकिलोमिटर) रहेको छ।

सर्वोच्च अदालतले २०८० असार ४ गते जारी गरेको परमादेशमा वर्षायामको उच्चतम पानीको सीमाबाट ६५ मिटर भित्रका अस्थायी वा स्थायी सबै संरचना हटाउन आदेश दिएको थियो। यस क्षेत्रलाई मध्यवर्ती हरियाली क्षेत्र घोषित गर्न पनि निर्देशन दिइएको छ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका