जोडिनुहोस
  • होमपेज
  • चितुवाले खोरबाटै खसीबाख्रा लान थालेपछि लोसेवासी चिन्तित

चितुवाले खोरबाटै खसीबाख्रा लान थालेपछि लोसेवासी चिन्तित

इलाम। माइजोगमाई गाउँपालिका–२ लोसेका बासिन्दा चितुवाको आतङ्कका कारण त्रसित भएका छन्। चितुवा खोरमै पसेर खसीबाख्रा लैजान थालेपछि पशुपालकहरू चिन्तित बनेका हुन्।

पशुपालक शेरबहादुर गुरुङका अनुसार चार दिनयता निदाउनसमेत गाह्रो भएको छ। उनले बताए अनुसार गएको राति चितुवाले खोरमै पसेर माउ बाख्रा मारेको हो। यस्तै, केही दिनअघि लोसेमै तीनवटा बाख्रा खोरमै मरेको पशु प्राविधिक रविन गुरुङले जानकारी दिए।

चितुवाको उपद्रो लोसेसम्म सीमित छैन। शनिबार राति माइजोगमाई–२ मूलखर्कका हर्कसिंह राई र बिज्जेका गोपाल खड्काको खोरमा पनि बाख्रा मरेका छन्। माइजोगमाई–३ गुप्तीका रोहित काफ्लेले भने, “बोका हरायो भनेर खोज्दा साँझ चितुवाको माउ र बच्चा देखियो।”

चितुवा मात्र होइन, बँदेल र बाँदरले तरकारी बालीमा समेत क्षति पुर्‍याउन थालेपछि किसान थप मर्कामा परेका छन्। मकै, फर्सी, स्कुस, आलुजस्ता बाली नष्ट भएको स्थानीयको गुनासो छ।

इलाका प्रहरी कार्यालय नयाँबजारका प्रमुख रमेश चौधरीले वन्यजन्तुबाट क्षति भए पनि अधिकांश घटना रिपोर्ट नहुँदा विवरण सङ्कलन गर्न समस्या भएको बताए।

लगातारको उपद्रोकै बीच स्थानीयले पशुधन, बालबालिका र बालीको सुरक्षाका लागि उचित सुरक्षा र राहतको माग गरेका छन्। किसान शेरबहादुर गुरुङ भन्छन्, “हामीलाई पशुभन्दा पहिले आफ्नो ज्यानको चिन्ता छ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14