काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री एवं वामपन्थी आन्दोलनका शीर्ष नेता मनमोहन अधिकारीको पूर्णकदको सालिक अनावरण गरेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका-७ स्थित रानीवनमा शनिबार आयोजित एक विशेष समारोहबीच उनले अधिकारीको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
सालिक अनावरणसँगै प्रधानमन्त्री ओलीले सोही स्थानमा निर्माण गरिएको ‘मनमोहन स्मृति पार्क’को समेत उद्घाटन गरेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वर्गीय मनमोहन अधिकारीलाई निष्ठा, सादगी र इमानदारिताको पर्यायका रूपमा स्मरण गरे । ‘मनमोहन अधिकारी केवल एक नेता मात्र नभएर निष्ठा, आदर्श र सादगीका प्रतीक हुनुहुन्थ्यो, प्रधानमन्त्री ओलीले भने, ‘उनले आफ्नो छोटो कार्यकालमा सुरु गर्नुभएको आफ्नो गाउँ आफैँ बनाऔं र सामाजिक सुरक्षा भत्ताजस्ता लोकप्रिय कार्यक्रमले नेपालको विकास र सामाजिक न्यायमा दूरगामी प्रभाव पारेको छ ।’
उनले अधिकारी नेतृत्वको नौ महिने सरकारले राष्ट्रियता, जनजीविका र विकासका पक्षमा गरेका कामहरू आज पनि उत्तिकै सान्दर्भिक र अविस्मरणीय रहेको बताए । प्रधानमन्त्री ओलीले अधिकारीकै पथलाई पछ्याउँदै वर्तमान सरकार ुसमृद्ध नेपाल, सुखी नेपालीुको राष्ट्रिय आकांक्षा पूरा गर्न दृढतापूर्वक लागेको उल्लेख गरे ।
नागार्जुन नगरपालिकाद्वारा निर्मित उक्त पार्कले स्वर्गीय अधिकारीको स्मृतिलाई जीवन्त राख्नुका साथै स्थानीय बासिन्दाका लागि एक महत्वपूर्ण पर्यटकीय तथा मनोरञ्जन स्थल बन्ने विश्वास व्यक्त गरिएको छ । पार्क परिसरमा अधिकारीको सालिकसँगै उहाँको जीवनी र योगदान झल्किने सामग्रीहरू पनि राखिने नगरपालिकाले जनाएको छ ।

































