
काठमाडौं । देशभर रेबिज र सर्पदंशसम्बन्धी औषधिको अभावबारे उठेका प्रश्नहरूलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सक्रियता देखाएको छ। मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले रेबिजविरुद्ध ५१ हजार १ सय ८० भायल खोप र सर्पदंशविरुद्ध प्रयोग हुने भेनम औषधी सातै प्रदेशमा आपूर्ति गरेको छ।
यही साता रेबिज र सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधीको अभावसम्बन्धी समाचारहरू सार्वजनिक भएपछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनपछि विभागले खरिद भइसकेका औषधी प्रदेश आपूर्ति केन्द्रहरूमा पुर्याएको जनाएको छ।
स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा रेबिजविरुद्धको १०,०८० भायल तथा सर्पदंशविरुद्धको १,००० भायल भेनम पठाइएको छ। त्यसपछि मधेस प्रदेश, जहाँ सर्पदंशका घटनाहरू बढी हुने गरेका छन्, त्यहाँ २,५०० भायल भेनम र करिब ५,००० भायल रेबिज खोप आपूर्ति गरिएको छ। अन्य प्रदेशहरूमा पनि मागको आधारमा औषधी पठाइएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए।
स्वास्थ्य सेवा विभागका अनुसार, आपूर्ति भइसकेका औषधीहरू छिट्टै प्रदेशस्तरीय स्वास्थ्य संस्थाहरूमा वितरण हुनेछ। यससँगै, रेबिज र सर्पदंश उपचारका लागि औषधी नपाउने समस्या समाधान हुने अपेक्षा गरिएको छ।
सङ्क्रमण र सर्पदंशबाट जनस्वास्थ्यमा देखिएको जोखिमको समयमा सरकारले देखाएको चासोले अब उपचार पहुँचमा सुधार हुने संकेत मिलेको छ। मन्त्रालयले आगामी दिनमा यस्ता समस्या पुनः नआउने गरी आपूर्ति प्रणालीलाई अझ प्रभावकारी बनाउने बताएको छ।






































