Breaking News
सबै वामपन्थीलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डल’ले सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल मार्फत उनले देशमा देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्न माओवादी धारासहितका बामपन्थीहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन् ।
‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु,’ उनले लेखेका छन् ।
देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच राष्ट्रिय सहकार्य अपरिहार्य रहेको भन्दै उनले थप लेखेका छन्, ‘राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ। यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ।’






















