जोडिनुहोस
  • होमपेज
  • सुबिसुको आयोजनामा काठमाडौंमा चौथो ‘एपाक आईपीभी सिक्स काउन्सिल मिट’ हुँदै

सुबिसुको आयोजनामा काठमाडौंमा चौथो ‘एपाक आईपीभी सिक्स काउन्सिल मिट’ हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो ‘एपाक आईपीभी सिक्स काउन्सिल मीट’ आयोजना हुने भएको छ । नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको सुबिसुको आयोजनामा अन्तर्राष्ट्रियस्तरको यो महत्त्वपूर्ण सम्मेलन यही अप्रिल ९ र १० सन् २०२६ मा काठमाडौंको होटल र्‍याडिसनमा हुनेछ ।

नेपालमा यस्ता अन्तर्राष्ट्रिय प्रविधि सम्मेलनहरूको आयोजना हुनुलाई सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई तीव्र गतिमा साकार पार्न महत्त्वपूर्ण कदमका रूपमा लिइएको जनाइएको छ । सम्मेलनले नेपाललाई एसिया-प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार विमर्शको केन्द्रमा स्थापित गर्ने जनाइएको छ ।

सम्मेलनले फाइभजी, स्मार्ट शहरहरू र ठूला-ठूला औद्योगिक स्वचालन जस्ता नवीनतम प्रविधिहरूका लागि आवश्यक असीमित ठेगाना आईपीभी सिक्सले कसरी प्रदान गर्दछ भन्ने विषयमा अनुभव साटासाट गर्ने तथा छलफल गर्नेछ । यसले नेटवर्कहरूमा बढ्दो साइबर खतराको बारेमा पनि ध्यानाकर्षण गराउनेछ ।

आयोजकका अनुसार यस वर्षको सम्मेलन विशेषगरी इन्टरप्राइज नेटवर्क आर्किटेक्चरमा आईपीभी सिक्सको व्यावहारिक प्रयोगमा केन्द्रित रहनेछ । विश्वभरका संस्थाहरू क्लाउड-आधारित, सफ्टवेयर-निर्धारित तथा सुरक्षित नेटवर्क वातावरणतर्फ अघि बढिरहेको वर्तमान सन्दर्भमा आईपीभी सिक्सको प्रयोग प्राविधिक सुधार मात्र नभई रणनीतिक आवश्यकता बनिसकेको कम्पनीले जनाएको छ ।

यो दुईदिने सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय किनोट स्पिकरहरू एवं विभिन्न क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहनेछ । सम्मेलनले सहभागीहरूलाई ज्ञान आदानप्रदान, विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया र क्षमता अभिवृद्धिको उत्कृष्ट अवसर प्रदान गर्नेछ ।

सुबिसुका प्रमुख कार्यकारी अधिकृत बिनयमोहन साउदले भने, ‘यो सम्मेलनले संस्थाहरूलाई भविष्यका लागि सक्षम र सुरक्षित नेटवर्क पूर्वाधार निर्माण गर्न सही मार्गदर्शन गर्नेछ । सहभागीहरूले अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक विशेषज्ञता हासिल गर्ने अवसर पाउनेछन् । यसले आगामी दिनमा नेपालले अवलम्बन गर्ने नयाँ नेटवर्क नीतिहरूमा समेत सहयोग पुर्‍याउनेछ ।’