जोडिनुहोस
  • होमपेज
  • युरोप पठाइदिने भन्दै रकम असुली गरेको आरोपमा मधु कार्की पक्राउ

युरोप पठाइदिने भन्दै रकम असुली गरेको आरोपमा मधु कार्की पक्राउ

काठमाडौं । नेपाली युवालाई युरोपका विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरेको आरोपमा मधु कार्की पक्राउ परेकी छन्।

प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ। थप अनुसन्धानका लागि वैदेशिक रोजगारसम्बन्धी मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको स्रोतले जनाएको छ। हाल उनी कालीमाटी प्रहरी वृत्तको हिरासतमा रहेको बुझिएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार कार्कीमाथि वैदेशिक रोजगारीका नाममा युवाहरूबाट रकम संकलन गरी ठगी गरेको आरोप छ। प्रहरीका अनुसार उनले जर्मनी लगायत युरोपका विभिन्न देशमा रोजगारीका अवसर रहेको भन्दै रकम उठाइरहेको अवस्थामा पक्राउ गरिएको हो।

पीडितहरूको दाबी अनुसार कार्कीले विभिन्न समयमा युरोपका देशहरूमा रोजगारी उपलब्ध गराइदिने आश्वासन दिँदै रकम संकलन गर्ने र त्यसपछि सम्पर्कविहीन हुने गरेको आरोप छ। प्रहरीले यससम्बन्धी उजुरी तथा आर्थिक कारोबारको विवरणमाथि अनुसन्धान गरिरहेको जनाएको छ।

अनुसन्धानका क्रममा कार्कीले संकलित रकम आफ्नै खातामा नराखी अन्य व्यक्तिका खातामार्फत कारोबार गरेको आशंका समेत गरिएको छ। यस विषयमा पनि थप छानबिन भइरहेको प्रहरी स्रोतले जनाएको छ।

यसअघि पनि कार्कीमाथि चेक गणतन्त्र, स्लोभाकिया र हंगेरीमा रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरेको आरोप लागेको थियो। त्यतिबेला उनी धरौटीमा रिहा भएकी थिइन्। कार्कीले विगतमा पत्रकारितासँग सम्बन्धित काम गरेको तथा प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–९ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेको विवरण सार्वजनिक अभिलेखमा देखिन्छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

छुटाउनु भयो कि?