
काठमाडौं । कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा रहेको श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको छ।
भारत सरकारको करिब ९ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत बन्नेछ। परियोजना सान्नीत्रिवेणी गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ। यो कालीकोट जिल्लामा सञ्चालन हुन लागेको पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।
शिलान्यास कार्यक्रममा सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय तथा सुरक्षित शैक्षिक वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपालका लागि भारतीय राजदूत Naveen Srivastava ले भिडियो सन्देशमार्फत परियोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्दै साझा विकास र समृद्धिका लागि नेपाल सरकार तथा नेपाली जनतासँग सहकार्य जारी रहने प्रतिबद्धता जनाए।
भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेश र ७४ जिल्लामा करिब ६०० परियोजना सञ्चालन गरेको जनाएको छ। तीमध्ये १८ वटा परियोजना कर्णाली प्रदेशमा रहेका छन्।
यसैगरी, भारत सरकारले कालीकोट जिल्लामा ४ वटा एम्बुलेन्स र २ वटा विद्यालय बस उपलब्ध गराइसकेको छ। कर्णाली प्रदेशभर स्वास्थ्य तथा शैक्षिक संस्थाहरूलाई हालसम्म ५६ वटा एम्बुलेन्स र १४ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ।
भारत र नेपालबीचको विकास सहकार्यअन्तर्गत सञ्चालन हुने यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकास, शिक्षा तथा सामुदायिक सेवाको पहुँच विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। भारत सरकारले नेपाल सरकारको विकास र समृद्धिको अभियानमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।
















