
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका झापा–५ का उम्मेदवार बालेन्द्र साह (बालेन)को चुनावी अभियानका क्रममा एक अप्रत्याशित घटना भएको छ । चुनाव प्रचारमा सक्रिय रूपमा सहभागी उनका एक सहयोगी अचानक बेहोस भएपछि सुदूरपश्चिमको प्रचार यात्रा केहीबेर तनावपूर्ण बनेको छ ।
काठमाडौँबाट सुदूरपश्चिमसम्मको चुनावी यात्रामा बालेनसँगै रहेका ४४ वर्षीय दिनेश सिटौला आज बिहान अछाममा प्रचार कार्यक्रमकै क्रममा अचेत अवस्थामा ढलेका हुन् । उनको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत तत्काल काठमाडौँ ल्याइएको छ । उपचार भइरहेको र अवस्था निगरानीमा रहेको जनाइएको छ ।
यसैबीच, बालेन सहभागी कार्यक्रमहरूमा अत्यधिक भीड जम्मा हुन थालेसँगै चोरी र लुटपाटका घटना बढेको भन्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ । अछाम र कञ्चनपुरमा आयोजित कार्यक्रमहरूमा आधा दर्जनभन्दा बढी व्यक्तिको मोबाइल र सुनका सिक्री चोरी भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले भीडभाडमा सहभागी हुने सर्वसाधारणलाई व्यक्तिगत सामग्री सुरक्षित राख्न र अनावश्यक भीडमा नधकेलिन विशेष आग्रह गरेको छ । प्रहरीले यस्ता कार्यक्रमहरूमा सुरक्षाकर्मीको संख्या थप गरिएको र घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।
लोकप्रिय उम्मेदवारलाई हेर्नेको भीड बढ्दै जाँदा स्वास्थ्य र सुरक्षासम्बन्धी जोखिमसमेत बढ्ने देखिएको भन्दै सम्बन्धित पक्षलाई थप सावधानी अपनाउनुपर्ने आवाज उठ्न थालेको छ ।




































