
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को मण्डिखाटारस्थित निजी निवासमा चोरी भएको छ । शाह र उनकी धर्मपत्नी घरमा नभएको समयमा अज्ञात समूहले निवासमा प्रवेश गरी चोरी गरेको हो ।
शुक्रबार साँझ घरको नियमित रेखदेखका लागि पुगेका उनका आफन्तले चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार निवासको मूल ढोका फोडिएको थियो भने घरभित्रका सामानहरू तितरबितर अवस्थामा फेला परेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चोरहरूले घरमा जडान गरिएका दुई–तीनवटा सिसीटिभी क्यामेरा र फुटेज रेकर्ड हुने डीभीआर मेसिन उखेलेर लगेका छन् । साथै, बाथरुम र भान्सामा जडान गरिएका महँगा टुटीहरू समेत चोरी भएको छ । अन्य बहुमूल्य सामानको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले घटनाको पुष्टि गर्दै इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली परिचालन गरिएको जानकारी दिए । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र महाराजगञ्ज प्रहरी वृत्तको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेको प्रारम्भिक अनुमान छ । घटना माघ १४ गतेदेखि १७ गते साँझको बीचमा भएको हुनसक्ने बताइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर प्राविधिक अध्ययन गरिरहेको छ भने शंकास्पद व्यक्तिहरूको खोजी तीव्र बनाएको छ ।




































