
प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई जना युवाको ज्यान गएको र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको दाबी गर्नुभएको छ । आज सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनको रूपमा भएको आफूले अनुमान गरेको बताउनुभएको हो । उहाँले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङु लिँदा सामान्य नलागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अस्तिको घटना हामी कसैले पूर्वानुमान गर्न सक्ने खालको थिएन । घटनाको अर्को दिन बिहान घटनाक्रमको ब्रिफिङु लिइयो । म अहिले सबै भन्न चाहन्न । केही कुरा गम्भीर लागेको छ । दुई जना युवाको जस्तो परिवेशमा, जसरी हत्या भएको छ । ईपीएसमा जे–जस्ता गतिविधि भएका छन् । गाडी जलाउने जस्तो गतिविधि भएको छ । घटना जस्तो देखिएको छ त्यस्तो छैन । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त होइन भन्ने अनुमान छ । त्यसै कारण यो घटनासँग सम्बन्धितलाई निलम्बन गरिएको छ र उच्चस्तरीय छानबिन आयोग बनाइएको छ । सामान्य छानबिन समितिले मात्रै पुग्दैन भन्ने निष्कर्ष निकालेर मृतकका परिवारलाई समेत बालुवाटार बोलाएर गम्भीर ढङ्गले समीक्षा गरिएको छ ।’
प्रधानमन्त्रीले मृतकका परिवारलाई रोजगारी दिने र शहीद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताउनुभयो । उहाँले नागरिकलाई निराशा बाँडिएको भन्दै देशमा अँध्यारोबाहेक केही नदेखाउनेहरू राष्ट्रवादी हुन नसक्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले सरकारले गरेका राम्रा कामहरूको प्रशंसा गर्न नहिचकिचाउन सत्तारूढ दल नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई अपिल गर्नुभयो । उहाँले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने सहमति भएको पनि बताउनुभयो ।