काठमाडौं( ‘नेकपा राष्ट्रिय एकता अभियान’का संयोजक वामदेव गौतमले आफू आत्मआलोचनासहित नेकपा एमालेका फर्किन तयार रहेको बताएका छन् ।
‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधनका क्रममा नेता गौतमले यस्तो बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित उक्त कार्यक्रममा एमालेमा फर्किनका लागि आफू बाटो कुरेर बसिरहेको बताएका छन् ।
‘तत्कालीन पार्टी फुटेपछि म एमाले कार्यालयमा फर्किएको थिएँ’, उनले भने, ‘त्यसबेला मलाई अध्यक्ष ओलीले हाई लेभल कमिटीले निर्णय गर्छ भन्नु भएको थियो तर आजसम्म पर्खिरहेको छु झन्डै ७ महिना भयो, खबर आएको छैन ।’
उनले आफू ७५ वर्षको भएको बताउँदै एमालेले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्न तयार रहेको पनि ओलीलाई बताएका छन् ।
उनले यदि आफूले फेरि एमाले फुटाउने शंका भएमा आफ्नोपछाडि स्थायी जासुस लगाइदिन ओलीलाई भने । ‘मैले धेरै समर्थक र कार्यकर्ता ल्याएर पार्टी फुटाउने डर लागेको भए मेरो पछाडि कसैलाई लगाइदिनुस्’, उनले ओलीलाई भने ।