भक्तपुर- नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् । दुई दिनसम्म चलेको नवौँ जिल्ला अधिवेशनबाट देउजाले बहुमत पदाधिकारीसहित कार्यकाल दोहोर्याएका हुन् ।
देउजाले अध्यक्षका अर्का प्रत्यासी मोहनवीर श्रेष्ठलाई पराजित गरेका छन् । श्रेष्ठलाई एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले साथ दिएका थिए । २०७९ को आमनिर्वाचनमा पनि पराजित बस्नेतलाई एमालेको आन्तरिक चुनावमा पनि धक्का लागेको छ ।आइतबार सार्वजनिक निर्वाचन परिणाम अनुसार सचिवमा पनि देउजाकै प्यानलका विष्णु तामाङ निर्वाचित भएका छन् ।
अघिल्लो कार्यकालका सचिव मोहनवीरको प्यानलबाट उपाध्यक्षमा किरण थापा निर्वाचित भए । उनी अहिले बागमती प्रदेश सांसद पनि छन् । थापाले निर्वतमान उपाध्यक्ष एवम् देउजा प्यालनका उम्मेदवार तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई पराजित गरे ।
एकजना उपसचिवमा देउजा प्यानलकै सानुकाजी कायस्थ निर्वाचित भए । अर्को उपसचिवमा मोहनवीर प्यानलका उत्तरा नेपाल विजयी भइन् । जेठ ३ देखि सुरु नवौँ जिल्ला अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमा देउजा प्यानलले पकड बनाएको छ ।
यो अधिवेशनमा सहमतिबाट नेतृत्व चयनको कोसिस भएको थियो । बिहीबार र शुक्रबार त्यसकै लागि प्रयास पनि भयो तर सफल हुन नसकेपछि दुईवटा प्यानलले निर्वाचन लडेका थिए । अधिवेशनमा जिल्लाका ३८ वडा कमिटीमध्ये ३५ वडामा सर्वसम्मत प्रतिनिधि छानिएका थिए । ३ वटा वडामा निर्वाचन गर्नुपरेको थियो । ४ नगरमध्ये देउजा प्यानलमा २ र श्रेष्ठ प्यानलमा २ नगर अध्यक्षको साथ थियो ।