काठमाडौं । अमेरिका, भारत, सिङ्गापुर लगायत विश्वका धेरै देशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । यो भेरियन्टलाई केपी वान र केपी टु नामाकरण गरिएको छ । नयाँ भेरियन्टका कारण अहिले अन्य देशहरुमा पनि कोरोनाको संक्रमण बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतमा नयाँ भेरियन्टको साथ संक्रममितको संख्या ३२५ पुगेको जनाइएको छ । कोरोनाको नयाँ भेरियन्टमा गरिएको प्रारम्भिक अध्ययनमा यसले शरीरमा बनेको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पारेर संक्रमण बढाउने गरेको पाइएको छ ।
यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले प्रारम्भिक अनुसन्धानमा नयाँ भेरियन्टले संक्रमण बढाए पनि त्यति खतरा नरहेको जनाएको छ । तर, नयाँ भेरियन्टका केसहरू बढ्दै गएको गतिलाई हेर्दा यसले छिट्टै सबैभन्दा फैलिएको ओमिक्रोन भेरियन्ट ‘जेएन वान’ लाई पछाडि पार्ने सम्भावना पनि रहेको सीडीसीले जनाएको छ ।
यस्तै, सिंगापुरमा पनि कोरोनाको संक्रमण बढ्न थालेको छ ।
केपी वान र केपी टू लाई कोरोनाको प्रावधिक नाममा आधारित ‘फिलारेट’ नाम दिइएको येल मेडिसिनका संक्रामक रोग विशेषज्ञ डा. स्कट रोबर्ट्सले बताएका छन् । यो ओमिक्रोनको एक सव–भ्यारियन्ट हो, जुन विगत केहि वर्ष देखि विश्वव्यापी रूपमा रिपोर्ट गरिएको मुख्य संस्करण हो । ओमिक्रोन भेरियन्टलाई अत्यधिक संक्रामक मानिन्छ र यसले प्रतिरक्षा प्रणालीलाई सजिलै खत्तम पार्ने देखाइएको छ ।
जोन हप्किन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थको रिपोर्ट अनुसार फिलारेटको स्पाइक प्रोटिनमा देखिएको उत्परिवर्तनले यसको संक्रामकता बढाउने विश्वास गरिन्छ तर यसले गम्भीर रोग निम्त्याउने सम्भावना भने अघिल्ला भ्यारियन्टको तुलनामा कम छ ।
सिंगापुर यस नयाँ संस्करणबाट सबैभन्दा प्रभावित देशहरू मध्ये एक हो । स्थानीय सञ्चारमाध्यमका अनुसार हालै त्यहाँ संक्रमित भेटिएका अधिकांशमा ‘केपी टू’ भेरियन्ट नै मुख्य कारण रहेको पाइएको छ ।
धेरैजसो व्यक्तिमा हल्का लक्षण मात्र देखिएको र उनीहरु सजिलै निको हुँदै गएको पनि चिकित्सकहरुले बताएका छन् । ट्रिनिटी हेल्थका वरिष्ठ उपाध्यक्ष र अनुसन्धानकर्ता डा. ट्यामी लुन्डस्ट्रमले एक रिपोर्टमा भनेका छन्, ‘नयाँ संस्करणका लक्षणहरू पनि कोभिडको अघिल्लो संस्करणहरू जस्तै छन् ।
धेरैजसो संक्रमितमा ज्वरो वा चिसो लाग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकान, मांसपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद वा गन्ध नमिल्ने जस्ता समस्या देखिन्छन् । कतिपय संक्रमितमा विना लक्षण नै देखिन्छन् ।’
अधिकांश मानिसलाई खोप लगाइएकाले कोरोना संक्रमणका कारण गम्भीर रोगको जोखिम भने कम रहेको जनाइएको छ ।