जोडिनुहोस
  • होमपेज
  • प्रचण्डको प्रस्ताव– ‘परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीकासाथ अघि बढौँ’

प्रचण्डको प्रस्ताव– ‘परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीकासाथ अघि बढौँ’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीकासाथ अघि बढ्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधान जारी हुँदासम्म राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गरेझैँ अहिले पनि एक भएर अघि बढ्नुपर्ने बताए। अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने बेला व्यवस्थामा नै सङ्कट पर्नसक्ने चिन्ता पनि व्यक्त गरे।

‘हामीले संविधान जारी हुँदासम्म जसरी राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गर्यौं, यसको कार्यान्वयनमा भने हामी एक हुन सकेनौँ। संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौति, जनताका असिमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा भएका छैनन्। संविधान जारी भएपछि भने उच्चस्तरका राष्ट्रिय सहमति आवश्यक थियो। तर त्यो जनताले अपेक्षागरेअनुसार पूरा गर्न सकिएको छैन। अहिले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने बेला व्यवस्थामा नै सङ्कट पर्ने हो की, फेरि शान्ति सम्झौतामा हामीले गरेको सहमतिमै धरापमा पर्ने हो की भन्ने प्रश्न पनि छु,’ उनले भने।

उनले अहिले समाजमा अराजकता फैल्याउने, सबै सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यताका, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोजेको पनि बताए। ’यसलाई प्रतिवाद गर्न यो परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू, सबै सङ्घसंस्थाहरू लोकतन्त्रप्रति विश्वास गर्ने, साँचो अर्थमा विश्वास गर्नेहरू समझदारीकासाथ अघि बढ्नुपर्ने आवश्यकता छ। हाम्रो वरिपरि, हाम्रो छिमेकतिर, हाम्रो दक्षिण एशियामा राजनीतिक घटनाक्रमहरू जसरी अघि बढेका छन्, ति सबैले हामी सबैलाई गम्भीर हुन, एक अर्काप्रति निषेधको होइन, एक अर्कासँग हातेमालो गरेर यो प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने आवश्यकता झन बढेको छ,’ अध्यक्ष प्रचण्डले भने।

संविधानको रक्षा, जनताका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढिकरणको लागि र जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान आफू तयार रहेको उनले बताए। चुनौतीको सामना गर्न एकता बाहेक अर्को हतियार नरहेको उनले उल्लेख गरे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका