काठमाडौं । नेकपा (एमाले)ले शीर्ष नेताबीच सहमति भए सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई छाड्न तयार रहेको जनाएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा एमाले सांसद योगेश भट्टराईले सभापतिको विषय उठाएर दबाबमा राख्न खोजिएको बताए ।
नेकपा (माओवादी केन्द्र)ले लेखा समितिको सभापति पद माग गर्दै आएको छ । बैठकमा माओवादी सांसद लेखनाथ दाहालले उक्त पद प्रतिपक्षीलाई दिन पहल गर्न समितिका सभाापति ऋषिकेश पाेखरेललाई आग्रह गरेका थिए । जवाफमा भट्टराईले ०७९ सालको निर्वाचनपछि शीर्ष नेतृत्वबीच सहमति भएर सभापतिको विषय टुंगिएको बताए । पुनः सहमति भए समिति सभापतिले राजीनामा दिने उनको भनाइ थियो ।
“सभापति संसदीय परम्पराअनुसार विपक्षी दलको हुन्छ भने विदित नै छ । हामीले कतिपय परम्परा मिच्दै आएका छौ,” उनले भने, “०७९ को चुनावपछि समिति सभापतिमा निर्वाचन भएन, सहमतिबाट चयन भएको हो । राजनीतिक दलको नेतृत्वमा पुनः सहमति हुन्छ भने सभापतिले राजीनामा दिनुपर्छ, दिनुहुन्छ । पटक–पटक सभापतिको विषयमा चिमोटेर दबाब दिइयो ।” भट्टराईले यसअघि लेखा समितिको सभापति पद प्रतिपक्षलाई दिए/नदिएको हेर्न आग्रह गरे । उनले सभामुख, राष्ट्रियसभाका अध्यक्ष पनि कसरी बनाइयो भन्ने हेर्न सुझाव दिए ।