जोडिनुहोस
  • होमपेज
  • नेपालमै गुड्ने भयो हाइड्रोजनबाट चल्ने कार, प्रधानमन्त्रीले गरे शुभारम्भ

नेपालमै गुड्ने भयो हाइड्रोजनबाट चल्ने कार, प्रधानमन्त्रीले गरे शुभारम्भ

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गरेका छन् ।

विश्वविद्यालयको २९ औं दीक्षान्तअघि उक्त ञहाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरिएको हो । यससँगै अब नेपालमै हाइड्रोजनबाट चल्ने कार पनि पहिलो पटक गुड्ने छ ।

दक्षिण कोरियामा बनेको हुन्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको थियो ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजन प्रयोगले कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताएका छन् ।

काठमाडौं विश्वविद्यालय केयू ले २०८ मंसिरमै कोरियाबाट उक्त कार ल्याएको थियो। उक्त कार करिब एक वर्षपछि अब गुड्ने भएको हो । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि उक्त कार ल्याएको थियो ।

इन्धनका कारण सञ्चालनमा हुन नसकेको कारका लागि काठमाडौं विश्वविद्यालय परिसरमै रिफ्युलिङ सेन्टर बनाइएको हो । जसको ओलीले शुक्रबार उद्घाटन गरे ।

यससँगै नेपालमा पहिलो पटक हाइड्रोजन फ्युल सेलमा आधारित सवारीसाधन सञ्चालन भएको केयूका उपप्राध्यापक तथा ल्याबका प्रमुख डा। विराजसिंह थापाले बताए ।

हाइड्रोजन गाडी नेपाल भित्रिए पनि कानुन अभावका कारण दर्ता हुन समस्या भएको थियो । हाइड्रोजन गाडी ल्याउनुको प्रमुख उद्देश्य विश्वविद्यालयले तयार गरेको फ्युल स्टेशनको अनुसन्धान गर्नु हो ।

पानीलाई रासायनिक प्रतिक्रियामार्फत टुक्र्याएरपछि हाइड्रोजन र अक्सिजन बन्छ । नौ लिटर पानीलाई रासायनिक प्रतिक्रियाबाट टुक्र्याउँदा एक किलोग्राम हाइड्रोजन उत्पादन हुन्छ । त्यसरी टुक्र्याउन ५० देखि ६० युनिट विद्युत् खर्च हुने उपप्राध्यापक थापा बताउँछन् । यो हिसाबले हेर्दा हाइड्रोजन उत्पादनको लागत विद्युत्को मूल्यमा निर्भर हुने उनको भनाइ छ ।

एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न दुई सय ५० देखि तीन सय रुपैयाँसम्मको विद्युत् खर्च हुने तथा पावर प्लान्टमा गरिने लगानी र प्रशासनिक खर्चलगायत आधारमा नेपालमा एक किलोग्राम हाइड्रोजनको लागत पाँच सय रुपैयाँ पर्ने अनुसन्धानकर्ताको अनुमान छ ।

बर्खायाममा नेपालमा सयौँ मेगावाट विद्युत् खेर गइरहेको अवस्था छ । त्यसलाई न्यूनतम मूल्यमा प्रयोग गर्न सक्दा निकै सस्तो मूल्यमा हाइड्रोजन उत्पादन हुनसक्ने विज्ञहरू बताउँछन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले नेपालमा १।५ देखि १।७५ युरो अर्थात् प्रतिकेजी दुई सय रुपैयाँमा हाइड्रोजन उत्पादन सम्भव रहेको देखाएका थिए । यो विश्वका अन्य देशको तुलनामा सबैभन्दा सस्तो हो ।

हाइड्रोजनले यात्रुवाहक सवारीसाधनमा प्रतिकिलो दुई सय किलोमिटरभन्दा बढी ‘रेञ्ज’ दिने अन्तर्राष्ट्रिय अनुभव छ । विश्वविद्यालयले ल्याएको गाडी ६।५ किलोग्राम हाइड्रोजन फ्युल क्षमताको छ । यसबाट करिब एक हजार दुई सय किलोमिटरको यात्रा गर्न सकिन्छ ।

अहिले पेट्रोलियम सवारीको प्रतिकिलोमिटर इन्धन लागत १५ देखि २० रुपैयाँ पर्छ । हाइड्रोजन फ्युलको लागत यसको तुलनामा निकै सस्तो हो । ब्याट्रीबाट चल्ने गाडीकोभन्दा यो शुल्क महँगो भए पनि ब्याट्रीको फेर्ने खर्चकोसमेत हिसाब गर्दा यसको लागत कम पर्ने अनुसन्धानकर्ताको दाबी छ ।

यससँगै विश्वविद्यालयले हाइड्रोजनमै आधारित रहेर बन्ने मिथेन र एमोनिया ग्यासबारेसमेत अध्ययन गरिरहेको छ । मिथेन हाइड्रोजन र कार्बनडाइअक्साइडको रासायनिक प्रतिक्रियाबाट बन्छ, यसलाई प्राकृतिक ग्यास भनिन्छ, जुन खाना पकाउने एलपिजीको प्रतिस्थापनदेखि औद्योगिक हिटरमा समेत प्रयोग गर्न सकिन्छ ।

हाइड्रोजनलाई नाइट्रोजनसँग रासायनिक प्रतिक्रिया गराउँदा एमोनिया बन्छ । नाइट्रोजन हावामा सबैभन्दा बढी पाइने ग्यास हो । यसरी बन्ने एमोनियाको प्रयोग पानीको प्रशोधन, चिस्यान केन्द्रलगायत औद्योगिक प्रयोजनका लागि हुन्छ ।

एमोनियालाई कार्बनडाइअक्साइड र अक्सिजनसँग रासायनिक प्रतिक्रिया गराए युरिया मल बनाउन सकिने अनुसन्धानकर्ताको भनाइ छ । विश्वविद्यालयले बागमती प्रदेश सरकारसँग मिलेर यस सम्बन्धमा अध्ययन गरेर युरिया मल बनाउन सकिने निष्कर्ष निकालेको थियो ।

पेरिस सम्झौताले सन् २०५० सम्ममा सबै सदस्य राष्ट्रले कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्ने घोषणा गरेको छ । सो घोषणालाई पूरा गर्न हाइड्रोजन ऊर्जाको प्रयोग बढाउनु उपयुक्त रहेको बताइन्छ ।

अमेरिका, चीन, जापान, युरोपेली मुलुकले पनि नवीकरणीय ऊर्जाको प्रयोगमार्फत कार्बन उत्सर्जन कम गर्ने उद्घोषका साथ विभिन्न नियम, कानुन बनाएका छन् भने हाइड्रोजन, सौर्यलगायत नवीकरणीय ऊर्जामा लगानी बढाइरहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका