जोडिनुहोस
  • होमपेज
  • ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति : पूर्वआईजीपीहरू एकजुट, माफी माग्न मन्त्रीलाई आग्रह

‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति : पूर्वआईजीपीहरू एकजुट, माफी माग्न मन्त्रीलाई आग्रह

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिका विषयमा पूर्वप्रहरी संगठन प्रमुख मञ्चले आपत्ति जनाएको छ । मञ्चले मंगलबार विज्ञप्ति जारी गर्दै एक विशिष्ट श्रेणीका राष्ट्रसेवक प्रहरी प्रमुखमाथि सार्वजनिक कार्यक्रममै ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति भाषिक अराजकता रहेको जनाएको हो ।

यस्ता प्रकारका भाषाले पूरै प्रहरी संगठनको मानमर्दन भएको मञ्चले उल्लेख गरेको छ । उक्त अभिव्यक्ति ‘फिर्ता लिएर’ आईजीपीसँग माफी माग्न मन्त्री गुरुङलाई मञ्चले आग्रह गरेको छ । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मन्त्री गुरुङलाई ‘जिब्रो थुत्नुपर्ने’ शब्द कुन सन्दर्भमा बोलेको भनेर सोधेका थिए । प्रधानमन्त्री ओलीले सोधेको विषय गुरुङ आफैँले सोमबार (हिजो) राष्ट्रिय समाचार समितिको कार्यक्रममा बताएका थिए ।

गएको आइतबार पोखरामा ‘प्रेस कन्फरेन्स’मा पत्रकारले सोधेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले संघीय प्रहरी ऐन ल्याउन प्रहरी महानिरीक्षकले अस्वीकार गर्दै आएको प्रसंगमा आईजीपीको ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका